१४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेकाे आराेपमा तीन जना पक्राउ

 चैत ९, २०७५ शनिबार ७:४६:४७ | रासस

काभ्रेपलाञ्चोक -  मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गर्ने चारमध्ये तीनलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार आरोपित मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । अर्का एक किशोर भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

दनुवार र राई क्रसर उद्योगका टिपर चालक हुन् भने रामकुमार सहचालक हुन् । नदीमा बालुवा सङ्कलन गर्ने ती किशोरीलाई डाँडखोला नजीक खोलाबाट सो समूहले टिपरमा लिएर गएका थिए । 

पीडितका परिवारले यही चैत ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जोहरी दर्ता गरेका थिए । जिल्ला प्रहरीको टोलीले जाहेरी दर्ता गरेकै दिन आरोपित तीन जनालाई क्रसर उद्योगबाटै पक्राउ गरेको थियो । पीडित किशोरीलाई उद्धृत गर्दै प्रनाउ गिरीले भन्नुभयो, 'मसँगै बालुवा जम्मा गर्ने हजुरआमालाई खोलामै छाडेर मलाई टिपरमा चढाएर खोला किनारमा लगेर चार जनाले जबर्जस्ती गरेका हुन् ।' 

प्रहरीले चैत ५ गतेनै आरोपितको म्याद थप गर्दै हिरासतमा राखी घटनाको अनुसन्धान गरिरहेको प्रनाउ गिरीले जानकारी दिनुभयो । पीडित किशोरीको सोही दिन स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपितको कसुर प्रमाणित भएमा मुलुकी संहिता अनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया