लैनो खोज्ने अस्पतालमा बकेर्नो बिरामीको व्यथा !

 चैत ९, २०७५ शनिबार ९:२९:४२ | मिलन तिमिल्सिना
unn.prixa.net

दुई मुठी सासले धानेको लुते ज्यान । सानोतिनो व्यथाले नि बेलाबेला दुःख दिइरहन्छ ! व्यथा लागेपछि अस्पताल जानै पर्यो । डाक्टरलाई देखाउनै पर्यो । आफूलाई सुविधा र पायक पर्ने बेलामा जाँदा डाक्टर भेटिँदैनन् । डाक्टर भेट्न बिहान झिसमिसेमै उठेर अस्पताल कुद्नुपर्छ । 

दिसापिसाब, भोकतिर्खा सबै बिर्सेर लाइनमा उभियो । बल्लतल्ल टिकट काउन्टर खुल्छ । टिकट लिएपछि लामो सास फेर्यो । फेरि डाक्टरको अनुहार देख्न अर्को झन् ठूलो लाइनमा पट्यार लाग्नेगरी कुर्नुपर्छ ।

बल्लतल्ल डाक्टर भेट्यो, त्यही पनि डाक्टरको ज्यानै दिक्कलाग्दो । कोही बडेमानको मोटो, कोही फू गर्दा नि ढल्लाजस्तो सिन्के र लुते । कोही भर्खरका सिकारु । तै पनि उपचार त गर्नैपर्यो । 

कुर्सीमा बस्नेबित्तिकै डाक्टरले पुलुक्क खल्तीतिर हेर्छन् । बिरामीका खल्ती पुक्क देखे भने फुरुक्क हुन्छन् । मख्ख पर्छन् । मुख मिठ्याउँछन् । खल्ती पातलो देखे भने टाउको कन्याउँछन् । आँ गर भन्छन् । टर्च मुखभित्रै पसाउन खोज्छन् । सररर कागजमा किरिमिरी लेख्छन् । भए भरको टेस्ट गर्न भन्छन् । अन्त होइन मेरोमै आउने भनेर आँखा तर्छन् । फेरि आउनू, आइरहनू भनेर अर्कोलाई बोलाउँछन् ।

रोग निको पार्न भनेर अस्पताल गयो, उल्टो बिरामी भएर फर्कनुपर्छ । एक त डाक्टरलाई कुर्दाकुर्दा हैरान । टिकट समाउनदेखि दिसापिसाब खकारको रिपोर्ट कागज समाउँदासम्म ५-१० मेलो दौडधूप गर्नुपर्ने । कतिपय डाक्टर र नर्सको व्यवहारले दिक्क बनाउने । उपचार खर्च र औषधीको बिल देखेर तर्सनुपर्ने, सातो जाने ।

तर्सने, सातो जाने रोग निको पार्न फेरि धामी झाँक्रीकोमा जानुपर्ने । त्यसमाथि हिजोआज गाउँमा धामीझाँक्री पनि पाइँदैन ।

हाम्रा डाक्टरहरु क्रिकेट होइन, फुटबल हेर्दा रहेछन् । एउटाले अर्कोलाई बिरामी पास गर्ने । एउटाले पेट छाम्छ, लौ छातीमा समस्या छ भनेर अर्को साथी डाक्टर वा साथी अस्पतालमा पठाउँछ । अर्कोले छाती छाम्छ लु मुटुमा जाउ भन्छ । मुटुकोले मिर्गौला, मिगौलाले तिघ्रा, तिघ्राले घुँडा, घुँडाले गोली गाँठा...भएभरकाले आफ्नो चिनजान र नातागोता सबैकोमा चखाउन पठाउँछ । 

यता जाउ यतै अस्पताल, उता जाउ उतै अस्पताल ।

सडक छेउमा हिँड्दै जाँदा पाइलैपिच्छे अस्पताल । यहाँ बिनाअप्रेशन पत्थरीको उपचार । ठूलो सानो टाइट पार्न हामीलाई सम्पर्क गर्नुहोस् । हामी यो गर्छौं, उ गर्छौं । सबैथोक भनेर लेखिएका हुन्छन् । तर जिउँदो राखिराख्छौं, कहिले बिरामी पार्दैनौ भनेर चाहिँ कसैले पनि भनेका हुँदैनन् । कुनै पनि अस्पतालमा यस्तो लेखिएको हुँदैन ।

बिरामी भनेका मान्छे होइनन् दुधालु गाईभैँसी र भेडाबाख्रा हुन् । अस्पताल नपुग्दै मोलमोलाई हुन्छ । दुधालु बिरामी हो भने थुन नै सुक्नेगरी दुहुने काम हुन्छ । बकेर्नो हो भने अझै धेरै दूध निकाल्ने गरी थुन निचोरिन्छ । 

जानाजान यस्तो गर्ने कुरा पनि भएन । मान्छे कहिल्यै बिरामी भएनन् भने यतिका अस्पतालमा के राख्ने ? सबैथोक छोडेर लाखौँ खर्च गरि डाक्टर÷नर्स पढेकाहरुको के काम ? मान्छे बिरामी पर्न छाडे भने बिजनेस चौपट हुन्छ । एउटा मान्छे कम्तीमा पनि हप्तैपिच्छे, नभए १५-१५ दिनमा त बिरामी हुनैपर्छ । नत्र अस्पताल खोल्ने साहुजीहरुको लगानी डुब्छ, डाक्टर नर्स पढ्नेहरुको समय खेर जान्छ ।

त्यसैले मान्छे निरोगी होइन, रोगी बनाउनुपर्छ । रोगीलाई अस्पताल बोलाइरहनुपर्छ । उपचार र औषधिको भारी बोकाएर फेरि छिटै आउनुपर्नेगरी फर्काउनुपर्छ । सबैलाई स्वस्थ र निरोगी बनाऔं भन्ने सरकारी नारा एकातिर । निरोगीलाई पटकपटक रोगी बनाऔं, उपचार गराउन अस्पताल बोलाउँ, औषधि दिएर एकछिनको लागि सञ्चो भएजस्तो बनाऔं, फेरि छिट्टै बोलाउनपर्ने गरी पठाऔं भन्ने अस्पताल र डाक्टरको पारा अर्कातिर ।

सबै मान्छे निरोगी र स्वस्थ हुने भए यति धेरै अस्पताल र डाक्टरको के काम ? त्यसैले निरोगी र स्वस्थ हुनुपर्छ भन्ने कुरा भनाई मात्र हो । अस्पताल रोगीलाई निरोगी र फेरि रोगी बनाउने थलो मात्र होइन, परीक्षण गर्ने ठाउँ पनि हो । डाक्टर र नर्स पढेकाले प्राक्टिकल अर्थात अभ्यास गर्नुपर्छ । निरोगी मान्छेमाथि अभ्यास गरेर हुँदैन ।

रोगी र बिरामी नै खोज्नुपर्छ । त्यस्ता मान्छे अस्पतालमै हुन्छन् । अनि अस्पतालमा सबैभन्दा पहिले डाक्टरहरुले होइन डाक्टर बन्न खोज्नेहरुले बिरामीको उपचार गर्छन् । नपत्याए तपाईं वीर, शिक्षण, पाटन लगायतका अस्पताल जानुहोस् त्यहाँ तपाईंले नपत्याउने लुरे डाक्टरहरुले पहिले तपाईंलाई छुन्छन् । ज्वरो र प्रेसर हेर्छन् । त्यहीँ उसको शिक्षकले यो यसो यसो हो भनेर पढाउँछ । बिरामीलाई प्रत्यक्ष उपचार गर्न सिकेपछि विद्यार्थी डाक्टर हुन्छ । उसको परीक्षण सफल हुन्छ । बिरामीको रोग निको हुने नहुने अर्को कुरा ।

बिरामी भनेका अस्पतालका लागि लैना भैँसी हुन् । यी लैना भैँसीको मोलतोल सबैभन्दा पहिले एम्बुलेन्स चालकले थाहा पाउँछन् र तिनको भाउ राखेर अस्पतालसित बिमारीको मोल तोक्छन् । ठूला अस्पतालसँग एम्बुलेन्स चालकको साँठगाँठ हुन्छ । मसँग यस्तो बिरामी छ कति दिन्छौँ भनेर एम्बुलेन्स चालकले सोध्छ । अस्पतालले लैनो हो कि बकेर्नो भनेर जिज्ञासा राख्छ । लैनो भए गोजीभरी दाम, बकेर्नो भए गोजीको पिँध ढाक्ने दाम । जता बढी दाम आउँछ, त्यही अस्पतालमा बिरामी लगेर बुझाउने एम्बुलेन्स चालकको काम ।

बिरामी भनेका मान्छे होइनन् दुधालु गाईभैँसी र भेडाबाख्रा हुन् । अस्पताल नपुग्दै मोलमोलाई हुन्छ । दुधालु बिरामी हो भने थुन नै सुक्नेगरी दुहुने काम हुन्छ । बकेर्नो हो भने अझै धेरै दूध निकाल्ने गरी थुन निचोरिन्छ । 

अस्पताल र डाक्टरले दिनुपर्ने त सेवा हो । सेवा पाइरहेको छु भनेर मख्ख पर्नु भएको हो भने त्यसरी मख्ख नपर्नुहोस् । अस्पतालले विरामीरुपी मेवा फलाउँछ । त्यो मेवा चाख्न डाक्टर मुख मिठ्याउँदै यो कोठा र उ कोठा चाहारिरहेका हुन्छन् । 

अस्पतालभित्रै पाउने मेवा त छँदैछ । अझ कतिपय बेला अस्पताल र डाक्टर आफै मेवा खोज्न गाउँठाउँ पुग्छन् । पाठेघरको उपचार भन्दै पाठेघर नै निकालेर फाल्छन् । पहिले निःशुल्क भन्दै निलाई फुत्त फालेर शुल्क लिन्छन् । अब तपाईँ नै भन्नुहोस् त अस्पताल र डाक्टरले सेवा गर्दैछन् कि सेवाका नाममा पाकेको मेवा खाँदैछन् ?
 

अन्तिम अपडेट: साउन ३२, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया