यसरी समातिए ‘विप्लव’ नेतृत्वका सुदर्शनसहित ९ जना कार्यकर्ता

 चैत ९, २०७५ शनिबार १३:३२:४९ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चोक – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, सशस्त्र प्रहरी तथा प्रहरी प्रधान कार्यालयअन्तर्गत रहेको विशेष प्रहरी ब्यूरोको संयुक्त टोलीले शनिबार बिहान सवा ४ बजे खानीखोला गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयकाे उचेच स्राेतले जानकारी दिएकाे हाे । 

वलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी,  विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की,  देव घिमिरे र लोकेन्द्र खडका पक्राउ परेको प्रहरीले जानकारी दिएकाे छ । 

बिहान ४ बजेर १५ मिनट जाँदा बा १७ च ४८९३ नम्बरको स्कोर्पियोमा मकवानपुरको फापरबारी जाने क्रममा प्रहरीले उनीहरुलाई घेरा हालेर समातेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक श्रीराम तिमल्सिना, सशस्त्र प्रहरी कार्यालय काभ्रेबाट सन्तोष केसीको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेर काठमाण्डौ लगेको बताइएकाे छ । 

विप्लव नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीसहित नौ जना पक्राउ

पक्राउ परेका वली विप्लव नेतृत्वको नेकपाका मध्यक्षेत्र इन्चार्ज हुनुहुन्छ । पक्राउ परेका विजय श्रेष्ठ संगठनका सैन्य प्रमुख तथा ताम्सालिङ इञ्चार्ज हुनुहुन्छ भने शंकर अधिकारी खानेपानी मन्त्री विना मगरको पूर्व श्रीमान हुनुहुन्छ । धर्मराज राजबाहक गाडी धनी तथा सिभिल इञ्जिनियर हुनुहुन्छ छ ।

उहाँको गाडी सानेपाबाट फापरबारीसम्म जानको लागि ३० हजार रुपैयाँमा शंकर अधिकारीले रिजर्भमा लगेको प्रहरीले जनाएको छ । पक्राउ परेका ९ जनासँगै डेटोनेटर, पेस्तोल, बा १७ च ४८९३ नम्बरको स्कोर्पियोसमेत प्रहरीले बरामद गरेको छ । 

कसरी समातिए वलीसहित नौ नेता ?

अपराध अनुसन्धान महाशाखाको टोलीले चैत ६ गते जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पनि थाहा नदिकन विप्लवका ४ नेतालाई पक्राउ गर्‍यो । तर विप्लव समूहका मध्यक्षेत्र इञ्चार्ज हेमन्त वलीलाई पक्राउ गर्ने गरी गरिएको प्रहरीको अप्रेशन असफल भयो ।

महाशाखाको टोली हेमन्तको चस्मा र केही औषधिमात्र भेट्टाएर फर्किएपछि जिल्लामा निकै खैलाबैला भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय काभ्रे तथा राष्ट्रिय अनुसन्धानको धेरै पटक बैठक बस्यो ।

विशेष सूचनाको आधारमा विप्लव नेतृत्वको नेकपाका मध्यक्षेत्र इञ्चार्ज वली काभ्रे जिल्लामै रहेको जानकारी जिल्ला सुरक्षा समितिले पायो । सुरक्षा समितिको सल्लाहमा चैत ६ गतेबाटै प्रहरीको विशेष टोली वलीलाई खोज्न खटियो ।

अनुसन्धानका क्रममा रोशी क्षेत्रबाट भागेका नेता तथा कार्यकर्ता काभ्रेको विकट क्षेत्र डाँडापारी क्षेत्रमा सेल्टर बनाएर बसेको सूचना प्रहरी प्रशासनले पायो । दुर्गम ठाउँ र विप्लवका कार्यकर्ताको संख्या यकिन हुन सकेन । ‘डाँडापारि क्षेत्रमा हतियार सहितको ठूलो सेल्टर छ भन्ने सम्मको सूचना प्राप्त त भयो तर कति जना र कुन ठाउँ भन्ने सूचना आएन’, प्रहरी विशेष स्राेतले भन्याे, ‘त्यसपछि विशेष ब्यूरोका १० जना, सशस्त्र प्रहरीको तर्फबाट ११ जना र बाँकी जिल्ला प्रहरीको गरी ४५ जनाको टिम बनाएर सर्च अभियान गरियाे ।’ 

चैत ८ गते बिहानैदेखि जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धानको टोली सूचना लिन सक्रिय भयो । साँझतिर डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका अन्तर्गत मिल्चेमा सेल्टर भएको प्रहरीले सूचना पाउँछ । 

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट बेलुकाको ११ बजे प्रहरी टोली मिल्चे हिँड्छ । प्रहरीको तर्फबाट प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाको नेतृत्वमा तथा सशस्त्रको तर्फबाट प्रहरी निरीक्षक सन्तोष केसीको नेतृत्वमा प्रहरी टोली मिल्चेतर्फ लाग्छन् । पहिले सिभिलमा ५ वटा मोटरसाइकलमा २ जनाको दरले १० जना प्रहरी, त्यसपछि दुईवटा बोलेरो भ्यान तथा एउटा ठूलो भ्यान मिल्चेतर्फ लाग्छन् । मिल्चे पुग्ने बेलामा एउटा मोटरसाइकलको साइलेन्सर पाइप खस्छ । 

जेनतेन तारले बाँधेर भए पनि प्रहरी टोली मिल्चे पुग्यो । जिल्लामा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख रविराज खड्का, सशस्त्र प्रहरीका प्रमुख एसपी वेनुप्रसाद पाठक तथा राष्ट्रिय अनुसन्धानका प्रमुख सरोज निरौला हाई अलर्टमा रहन्छन् ।  प्रहरी टोलीले मिल्चे पुगेपछि एउटा गाडी मिल्चेबाट फापरेबारीतर्फ अगाडि बढ्दै गरेको देख्छ । 

जिल्लाबाट गएको मोटरसाइकल टोलीले पहिलो चरणमा फलो हुन्छ र ट्रयापमा पार्दै मोटरसाइकलले गाडीलाई घेर्छ । केही समयमा प्रहरीको गाडीहरुले घेर्छ । यतिबेलासम्म बिहानीपखको ४ बज्छ । प्रहरीले गाडी खानतलासी गर्दा विप्लव नेतृत्व नेकपाको मध्यक्षेत्र इञ्चार्जसहित ९ जना गाडीमा सवार रहेको भेट्छ र पक्राउ गर्छ । 

वलीसहितका ९ जनालाई जिल्लामा ल्याएर सार्वजनिक गर्ने भनिए पनि अन्तिम समयमा काठमाण्डौंको घटनामा जोडिएको कारण सीधै काठमाण्डौ लगिएको छ ।   
 

अन्तिम अपडेट: चैत १३, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया