नेपाल एयरलाइन्सको काठमाण्डौ–दुबई उडान कटौती, वाइडबडी जहाज प्रयोग गरिने

 चैत ९, २०७५ शनिबार १४:३८:१४ | उमाकान्त पाण्डे

यूएई – नेपाल एयरलाइन्सले काठमाण्डौबाट दुबईका लागि गर्दै आएको उडान कटौती गरेको छ । त्रिभुवन विमानस्थल निर्माण र दुबइ एयरपोर्ट टर्मिनल दुईमा पुनर्निर्माणका काम काम हुने भएपछि एयरलाइन्सले उडान कटौती गरेको हो ।

एयरलाइन्सले चैत १८ गते अर्थात अप्रिल एक तारिखदेखि असार १५ गते अर्थात जुन ३० तारिखसम्मका लागि उडानमा कटौती गरेको हो । यसअघि दैनिक उडान गर्दै आएको एयरलाइन्सले यो अवधिमा हप्तामा तीन दिन मात्रै उडान गर्ने भएको छ ।

चैत १८ गतेदेखि एयरलाइन्सले काठमाण्डौबाट मंगलबार, बिहीवार र शनिबार तथा दुबईबाट बुधवार, शुक्रबार र आइतबार मात्रै उडान गर्ने एयरलाइन्सका यूएई प्रमुख टिकाराम पङ्गेनीले जानकारी दिनुभयो । 

यस्तै उडानको समय पनि परिवर्तन गरिएको छ । परिवर्तित समय अनुसार एयरलाइन्सले नेपालबाट राती सवा ९ बजे र दुबईबाट बिहान २ः २० मा उडान भर्नेछ  । समय र विमानस्थल परिवर्तन भए पनि आबुधाबी र दुबईबाट विमानस्थलसम्म जान र आउन दिइने  बस सेवा भने यथावत राखिएको पङ्गेनीले बताउनुभयो । 

दुबई विमानस्थलको दक्षिण पूर्व तर्फको धावनमार्ग पनि मर्मतका लागि बन्द हुने भएकाले तीन महिनाका लागि दुबईमै रहेको अल मक्तुम विमानस्थलबाट उडान र अवतरण गर्ने नेपाल एयरलाइन्स यूएई शाखाले शुक्रबार आबुधाबीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

उडान तालिका तथा अवतरण हुने स्थान परिवर्तन हुँदा सेवाग्राहीले  थप शुल्क तिर्नु नपरोस भनेर यो अवधिमा एक पटकका लागि टिकट परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ । 

उडान कटौती भए पनि यात्रुको चाप कम नहुने भएकाले वाइडबडी विमानबाट व्यवसायिक उडान गरिने भएको छ । यसअभि न्यारोबडी मार्फत एक पटकमा १ सय ५८ यात्रु बोक्दै आएकोमा वाइडबडी मार्फत २ सय ७४ जना यात्रु बोक्ने एयरलाइन्सले जनाएको छ । 

नेपालको ध्वजाबाहक नेपाल वायुसेवा निगमले ४ बर्ष रोकिएको दुबई उडान सन् २०१६ को अगस्ट १८ देखि सुरु गरेको थियो । निगमले नयाँ जहाज ल्याएपछि भने अघिल्लो बर्षको अगष्ट महिनादेखि दैनिक उडान गर्दै आएको थियो ।

वाइडबडी विमानले उडान सुरु गरेपछि आपतकालिन अवस्थामा रहेका बिरामीलाई चिकित्सकको सल्लाह अनुसार यात्रा गराउन सकिने एयरलाइन्सले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया