स्वरोजगारको स्पष्ट योजना नहुँदा विदेश नै फर्किन्छन् परदेशी

 चैत ९, २०७५ शनिबार १६:११:२८

सागरविक्रम बस्नेत । 

रामेछाप– रामेछाप नगरपालिका वडा नम्बर ७ भालुखोपका अर्जुन कार्की विदेश बस्न थाल्नुभएको १९ वर्ष भयो । १९ वर्षअघि उहाँ विदेश जाँदा गाउँबाट अरु कोही पनि विदेश गएका थिएनन् । 

पहिलोपल्ट विदेश जाँदा बुवाआमाले धेरै चिन्ता गर्नुभयो ।  विदेश जाँदा आमाले रुँदै बाटो छेकेको दिन सम्झँदा अहिले पनि कार्कीका आँखा रसाउँछन् । ‘विदेश जानु मेरो बाध्यता थियो’ कार्कीले भन्नुभयो । त्यसैले विदेशमा कमाएर सुखसँगै जिन्दगी बिताउने सपनालाई आमाको आँसुले रोक्न सकेन । 

‛सायद मैले त्यतिबेला विदेश नजाने कसम खाएको भए जिन्दगी नै वल्लो खोला न पल्लो तिरको हुन्थ्यो कि ?′ कार्की भन्नुहुन्छ । कार्की विदेश जानुअघि २ वर्ष काठमाण्डौको मनसुन डिस्कोमा होटल म्यानेजरको काम गर्नुहुन्थ्यो ।

डिस्कोमा महिनाभर दुःख गरेर कमाएको पैसाले आफ्नो खर्च मात्र टथ्र्यो । घरमा पठाउन पुग्दैनथियो । डिस्कोमा सँगै काम गर्ने साथीहरुले विदेशमा गएर काम गरेको अनुभव सुनाएका थिए । त्यही सुनेका कुराले उहाँलाई विदेश जान प्रेरित गर्‍यो ।  

‘होटलको काम गर्न सिपालु भएकाले पनि आफूले देखेको सपनामा पूर्णबिराम लागेन’, कार्की आफ्नो अनुभव सुनाउनुहुन्छ । सन् २००० देखि हालसम्म पनि कार्की विदेशमै काम गरिरहनु भएको छ । 

फरक देश, फरक परिवेश 

देश अनुसारको भाषा, धर्म र संस्कृति पनि अलग अलग हुने भएकाले केही समय काममा समेत समस्या हुने कार्कीको अनुभव छ । कार्कीको पहिलो रोजाई यूएई बन्यो । सन् २००० मा यूएई जानुभएका कार्की सन् २००९ सम्म यूएईको रेम्बो स्टेक हाउसमा क्याटरिङ सुपरभाईजरको काम पाउनुभयो । 

बिहे नगरी विदेश जानुभएका कार्की सन् २००२ मा छुट्टिमा नेपाल आएर बिहे गरेपछि फेरि पनि यूएई नै फर्कनुभयो । कार्की कम्पनीको सुपरभाइजर भएकाले ६/६ महिनामा घर बिदामा आउन टिकट पाउनुहुन्थ्यो । छोरीे जन्मेपछि कार्कीले विदेश नजाउँ कि भन्ने पनि सोच्नुभयो ।

तर बिहेपछि देखेका सपनाले फेरि विदेश नै डोहोर्‍यायो । यूएईको काम र दाम चित्त बुझ्न छाड्यो । विचार फेरियो । होटलकै काममा अफगानिस्तान जाने निर्णय लिनुभयो । सन् २०१० मा अफगानिस्तान जानुभयो ।

तर पुगेपछि थाहा भयो त्यहाँको रोजगारी जीवन खुकुरीको धारमाथि राख्नु भनेझैं रहेछ । यूएई र अफगानिस्तानमा १३ वर्ष काम गरेर फर्कंदा ललितपुरको बालकुमारीमा चारआना जग्गा जोडेर ३ तले घर बनाइसक्नु भएको थियो ।

घर बनाउँदा थोरै ऋण लाग्यो । ऋण तिर्ने बाटो अरु नदेखेपछि फेरि विदेश जाने निर्णय लिनुभयो । तर अफगानिस्तान होइन, ओमन । सन् २०१४ मा नेपाल फर्किपछि ओमन पुग्नुभयो कार्की । ५ वर्षदेखि उहाँ ओमनको ताउस क्याटरिंङ सर्भिसमा सुपरभाइजरको काम गरिरहनु भएको छ । 

स्वरोजगारको स्पष्ट योजना नँहुदा विदेश नै फर्कन्छन् परदेशी 

विदेशमा धेरै समय दुःख गरेर कमाएको पैसा नेपालमा छोटो समय बिताएपछि रित्तिँदै जान्छ । स्वदेशमा लगानी गर्न प्रायः परदेशी वातावरणसँग अपरिचित हुन्छन् । लगानी गर्नु पूर्व नै लगानी डुव्ने कुराले पिरोल्छ । व्यवसायको लागि कानुनी प्रकृया पूरा गर्न त्यत्तिकै झण्झटिलो छ ।

अझ परदेशीसँग नेपालमा फर्किएपछि स्वरोजगारको स्पष्ट योजना हुँदैन । अनि विदेश नजाने निर्णय लिएर आएका परदेशी फेरि पनि विदेश नै जान बाध्य हुन्छन् । कार्कीले पनि यही कुरा भोग्नुभयो । 

सामाजिक सेवाले सन्तुष्टि मिल्छ 

विदेशमा कमाएको पैसाले परिवारको आवश्यकता त पूरा भएकै छ । तर कार्कीको सामाजिक सेवाको रुची पनि कम छैन । उहाँले केही वर्ष यता विदेशमा कमाएको केही रकम असहाय, अशक्त, साहाराविहीन र अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आउनु भएको छ । 

एनआरएन ओमनको सदस्य समेत रहेका कार्कीले रामेछापको हिमगंगा रेणुकादेवी माविलाई प्लस टु सञ्चालन गर्न सात हजार सात सय सतहत्तर रुपैयाँ सहयोग गर्नुभयो ।

गएको वर्ष छुट्टिमा घर आउँदा रामेछाप नगरपालिका ७ हिलेपानीका हिँडडुल नसक्ने १२ वर्षीय टिकाबहादुर खत्रीलाई १७ हजार ७ सय १७ रुपैयाँ सहयोग गर्नुभएको थियो । यस्तै मुटु रोगबाट पीडित धनकुटाकी ११ वर्षीया बालिकालाई ओमनमा सहयोग जुटाएर ३६ हजार रुपैयाँ दिँदा कार्कीले अगुवाई गर्नुभयो ।

यो पटक पनि छुट्टिमा नेपाल आउँदा रामेछाप नगरपालिका सुकाजोरकी ९७ वर्षीया बृद्धा पुन्टिमायालाई नगद ५ हजार ५ सय ५५ र एकसरो लत्ता कपडासहित सम्मान गर्नुभएको छ । 

कार्कीले कमाएको केही पैसा समाज सेवामा खर्च गर्न पाउँदा मन शान्त हुने बताउनुभएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०७५

तपाईको प्रतिक्रिया