होलीको दिन फुल्चोकीमा हराएका चार घण्टा

 चैत ९, २०७५ शनिबार १८:३१:१७ | विनय शेखर
unn.prixa.net

‘उ त्यता हुनुपर्छ बाटो । त्यहाँ खुल्ला चउर देखाउँछ । उज्यालो पनि देखियो । पक्कै त्यहीँ हुनुपर्छ, हामी सही बाटोमै छाैँ,’ सहयात्रीमध्ये कसैले यसो भन्दा सबैका आँखा र कान चनाखा हुन्थे । 

अनि फेरि आउँथ्यो हिँड्ने जोश । तर हराएको २ घण्टापछि गोदावरीमा किनेको पानीका बोतल रित्तिएका थिए । पिउने पानी सकिएर मुख सुक्न थालेको थियो । अनि बिस्तारै शरीरमा पानी र तागत कम हुन थालेको थियो । 

एउटा झोलामा केही खानेकुरा थियो, तर जंगलमा बसेर खाने ठाउँ थिएन । निगालोको बाक्लो जंगल, काँडाघारी, मसिना लहराका झाडी पन्छाउँदै हिँड्न थालेको घण्टौं भैसकेको थियो । यो बिहड वनमा अब हामीलाई बँदेलसित आमने सामने भइएला भन्ने डरसमेत लाग्न थालेको थियो । 

हामीसित एनसेल र टेलिकमका सिमसहितका फोन पनि थिए, तर मोबाइलको नेटवर्क गायब थियो । 

‘एकछिन है नेटवर्क टिप्यो,’ एकाएक यसो भन्नेलाई फेरि सबैजना आशाले हेर्थ्याैँ । छिनमै गायब हुने नेटवर्कमा गूगल म्याप हेर्न पाउनु आकाशको फल आँखातरी मर झैँ भयो धेरैपटक । बल्ल एक ठाउँमा पुगेपछि फोन राम्ररी चल्यो । 

गूगलले फुल्चोकी मन्दिर जाने पैदलमार्ग देखायो । तर त्यो हामी भएको स्थानबाट कता र कुन दिशामा छ भन्ने कुनै संकेत थिएन । हामी घना जंगलको बीचमा थियौँ तर गूगलले हामी भएको ठाउँलाई खुल्ला चउर भनेर देखाइरहेको थियो ।  

जंगलले यति भुल्यायो कि हामी कहिले २४ सय मिटरमा पुग्थ्याैँ त एकैछिन पछि १७ सय मिटरमा झर्नुपर्थ्याे । समथरजस्तो ठाउँमा हिँड्न पाएको हुन्न, भिरको बाटो सुरु हुन्थ्यो । खुट्टा लगलग कामिरहेका बेला हात टेकेरसमेत हिँड्नुपर्‍याे । उचाइको फोबिया भएका एक सहयात्रीको अवस्था घरी–घरी हेर्न लायक हुन्थ्यो । 

जंगलभरी केही राम्रो थियो भने राताम्य गुराँस । फुल्चोकीको जंगलमा गुराँसको पाँचथरी फूल देखियो । फोटो खिच्नबाहेक त्यो दिन गुराँसको विशेष महत्व के थियो भने गुराँसको फूल हाम्रो आहारासमेत भएको थियो । 

पोथ्राहरु रातै थिए । हामी गुराँसका फूल टिप्दै, खाँदै, हिँड्दै थियौं । गुराँसका फूलले मुख सुकेर प्याक-प्याक हुनबाट जोगायो र हाम्रो हिँड्ने तागत पनि जोगियो । 
त्यो दिनको हिँडाइलाई ‘जंगलवाक’ भन्दा हुन्छ । कसैले भन्यो, ‘जंगलवाक हैन होली हाइक ।’ होली हाइक नराम्रो नाम थिएन । फागु पूर्णिमाकै दिन फुल्चोकी पदयात्राको अवसर जुरेको थियो । 

यता शहर रंगको धुलोले सप्तरंगी थियो भने हामी चाहिँ राता, सेता र बैजनी रंगका गुराँसले आकास र भुइँ छपक्क ढाकेको जंगलमा बाटो खोजिरहेका थियाैँ ।  
त्यो दिन हामी ४ घण्टा हराएका थिएनौं, बरु दुम्सी र बँदेल हिड्ने डोहोेलाई मानिस हिँड्ने छोटो बाटो भन्ठानेर मूल सडक छाडेर उकालो लागेपछि घना र बिहड जंगलमा फसेका थियौं । 

केही समय अलिकति जोश, अलिकति दुस्साहसले काम गरेको थियो । मान्छे हिँडेको हो कि जस्तो अनुमानित पदचापलाई पछ्याउन हामीले मूलबाटो छोड्नु नै ठूलो भूल भयो । यसो गर्नुपर्ने अर्को कारण सडकै-सडक जाँदा १२ किमी हिँड्नुपर्थ्याे । त्यो त्यति रोमाञ्चक र शान्त दुवै हुने थिएन । फुल्चोकी हाइक निरस नै होस् भन्ने ठानिएको थिएन पनि ।

तर त्यसो गर्दा एकाएक फसिएला भन्ने लागेको थिएन । डेढ दुई घण्टामा पनि सडक नभेटेपछि एकाएक आफू जंगलमा हराएको थाहा पाउँदा हामी सबैका नौनारी गलिसकेका थिए । 

सडक अब आउला, तब आउला भन्दाभन्दै हामी अनकण्टार जंगलमा पुग्छाैँ । मुस्किलले जमीनमा टेक्न खोज्यो पत्कर र भर्खरै ओभाएको हिउँले ओसिलो बनाएको फसफसे माटो मात्रै भेटिन्छ । टेक्ने ठाउँ थिएन । 

समात्नलाई रुख वा बिरुवा हुन्थेनन् भने उँभो हैन सिधै तल झरिन्थ्यो । कतैकतै, केही हिँडेको जस्तो संकेत भेटिँदा बाटो भेटिने थोरै आशा पलाउँथ्यो । तर त्यो आशा एकैछिनमा हराउँथ्यो, बाटोको संकेत दिने माटो हराएसँगै। 

त्यतिञ्जेलसम्म हामी सडक र पैदल दुवै मार्गबाट निकै टाढा, निकै माथि घनघोर जंगल र निगालोघारीमा पुगिसकेका थियौं । 
तै पनि बाटो भेटिने आस मरेको थिएन । तर घडीले ११ बजाउँदा यस्तो ठाउँमा पुगियो जहाँ मोबाइल नेटवर्क थिएन । नेटवर्क त मूलबाटो छोड्ने बित्तिकै गायब भैसकेको थियो ।

घना जंगलको बीचमा हामीलाई केही कुराले आकर्षित गरिराखेको थियो भने त्यो लालिगुराँस थियो । 

त्यस दिन बिहान गाडीबाट गोदावरीमा ओर्लिएपछि हामीसँग एकजना यात्री थपिए । उनी दोश्रोपटक फुल्चोकी मन्दिर दर्शन गर्न घर बिशंखु नारायणबाट बिहानै हिँडेका रहेछन् । तर आधी बाटो पुगेपछि साथीले धोका दिएर अलपत्र परेर बसेका रहेछन् । 

एक्लै जाउँ कि नजाउँ भनी अल्मलिएका बेला उनले हामीलाई भेटे । पहिलो एक किमी हिँडाइमा हामीमध्ये धेरैलाई लागेको थियो, उनी हिँड्न सक्दैनन् । तर उनी हामीसँगै हिँडे । नेपाली सेनाका अवकाश प्राप्त सिपाही रहेछन् । अनकन्टार जंगल र भिरको बाटो घिस्रिएर हिँड्नुपर्दा उनी सेना हुँदाका दिन सम्झिरहेका थिए । 

गूगलले मान्छे हिँड्ने बाटो दाहिनेपट्टि देखाएको लगभग दुई घण्टासम्म लगातार त्यतैका भीर पहरा र खोल्सा छिचोलेपछि फुल्चोकी मन्दिर जाने बाटो भेटियो । १४ सय मिटरमा सडकबाट छोटो बाटो ठानेर जंगल पसेका हामीले ४ घण्टापछि २५ सय मिटरमा बल्ल छोटो बाटो भेट्टायौं । 

दिउँसोको १२ बजेसम्ममा उकालो छिचोल्ने भनेर हिँडेका हामी फुल्चोकी डाँडामा पुग्दा दिउँसोको साढे तीन भएको थियो । 

ज्यान सुख्खा । अब फर्केर तल झर्ने आँट थिएन । तर मन भने प्रफुल्ल थियो । अनुहारमा युद्ध जितेको सिपाही जस्तो आभा थियो । सबभन्दा रोचक त के थियो भने अरुका समाचार बनाउनेहरु त्यो दिनको जंगलवाक गर्दा पनि आफै समाचार बनिनबाट भने जोगिएका थियाैँ । 

फुल्चोकीको जंगलमा यात्रु हराएको समाचार पढिएको थियो, त्यहाँ हराउने सम्भावना छ भन्ने सुनिएको पनि थियो, तर फुल्चोकीको जंगलमा आफै हराइएला र हराएको अनुभव अरुलाई सुनाउनु पर्ला भन्ने चाहिँ हामीमध्ये कसैले पनि कहिल्यै कल्पनासम्म गरेको थिएन । 
 

अन्तिम अपडेट: बैशाख ११, २०७६

विनय शेखर

विनय शेखर एन्टेना फाउण्डेसन नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ ।

1 Comments

  • नेत्र

    March 24, 2019, 9:37 a.m.

    गज्जब ।पढिरहदा, यस्तो लाग्यो कि म पनि हराईरहेको छु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया