अमेरिकामा रहेका केही नेपालीले नेपाल र नेपाली नेतृत्वलाई नकारात्मक दृष्टिकोणले हेर्छन् : प्रचण्ड

 चैत १४, २०७५ बिहिबार १९:११:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका केही नेपालीहरुले नेपाल र नेपाली नेतृत्वलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताउनु भएको छ । 

पत्नी सिता दाहालको स्वास्थ्य उपचार गरी अमेरिकाबाट बिहीबार अपरान्ह स्वदेश फर्कनु भएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगकाे कुराकानीमा नेपाललाई बदनाम गर्ने तथा नेपालका प्रधानमन्त्री, राष्ट्रपतिलगायतका उच्च नेतृत्वप्रति नकारात्मक दृष्टिकोणले हेर्ने केही नेपालीहरु रहेको टिप्पणी गर्नु भएको हो ।

उहाँले आफूमाथि पनि मेरिल्याण्ड अदालतमा उजुरी परे पनि त्यस्तो कुनै अप्रिय हर्कत नभएको र त्यहाँस्थित नेपाली दूतावासले त्यसो हुन नदिन व्यवस्थित योजना बनाएको पनि बताउनुभयो । अध्यक्ष दाहालले पत्नी दाहालको अमेरिकाको तीन वटा अस्पतालमा उपचार गरिएको र त्यहाँबाट दिएको औषधिले स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको पनि जानकारी दिनु यो । त्यसका अतिरिक्त अमेरिकास्थित पार्टीका नेता, कार्यकर्ता र त्यहाँस्थित नेपाली बुद्धिजीवीहरुसँग पनि नेपालको समृद्धिका लागि आवश्यक छलफल गरिएको पनि बताउनुभयो । उहाँले वाशिंगटन र मेरिल्याण्ड राज्यका संसद र जनप्रतिनिधिहरुसँग पनि आफूले भेट गरी द्विपक्षीय हितका विषयमा कुरा गरिएको पनि बताउनुभयो ।

अध्यक्ष दाहाल गएकाे चैत्र ३ गते आइतबार पत्नी सिताको स्वास्थ्य उपचारका लागि अमेरिका जानु भएको थियो । दाहाल पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित हुनुहुन्छ । अध्यक्ष दाहालले अमेरिकास्थित जर्ज टाउन हस्पिटल र जोन हकिन्स अस्पतालमा त्यसकाे रोगको उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया