प्रधानमन्त्री ओली झापा र मोरङमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने

 चैत १७, २०७५ आइतबार ६:४९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार र सोमबार मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ । 

काठमाण्डौबाट विराटनगर अवतरण गरेर प्रधानमन्त्री ओलीले आइतबार सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिकामा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन , मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नुहुनेछ । 

यसैगरी अपरान्ह ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक/प्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नगरपालिका भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आइतबार नै मदन भण्डारी रंगशालासम्बन्धी सरोकारवालाहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसपछि गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी सोमबार बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ । दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्नु हुने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री ओलीले दिउँसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिकामा रहेको स्कुल चौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्नुहुनेछ । त्यसपछि उहाँ सोमबार काठमाण्डौ फर्कनु हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया