प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक : कम्तीमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग

 चैत २१, २०७५ बिहिबार ११:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा केन्द्रित भएर छलफल गर्नु भएको हो ।

छलफलमा मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तीमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका थिए । चालू आर्थिक वर्षको बजेट न्यून भएकाले त्यसलाई बढाएर आगामी आर्थिक वर्षमा कम्तीमा पनि ३३ प्रतिशत पुर्‍याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनुभयो । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले चालू आर्थिक वर्षको बजेट न्यून देखिएको भन्दै संघीय सरकारको आलोचना गर्दै आएका थिए ।

त्यसैगरी मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषद बैठकले जारी गरेको २९ बुँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउका थिए । अन्तर प्रदेश समन्वय परिषदले जारी गरेको २९ बूँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनु भयो ।

छलफलमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा विस्तृत छलफल गर्न आगामी बैशाख १२ र १३ गते राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने योजना तय गरिएको पनि मुख्य मन्त्रीहरुलाई जानकारी गराउनु भएको थियो । 

प्रधानमन्त्री ओलीले प्रदेश २ को बारा र पर्सामा आएको आँधि हुरी प्रभावित क्षेत्रको आवास निर्माणका लागि पनि सबै प्रदेशलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो । उहाँले आँधिहुरी पीडित पक्षको आवास निर्माणलगायतका राहतका विषयमा पनि प्रधानमन्त्री ओलीले आफूहरुसँग चासो र चिन्ता व्यक्त गर्नु भएको पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनु भयो ।

संघीय सरकारले आँधि हुरी प्रभावित क्षेत्रमा आवास निर्माणको काम गरिदिने घोषणा गरी सकेको छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया