टनका टन धुलो उठाउँदा पनि किन चम्केनन् काठमाण्डौका सडक ?

 चैत २५, २०७५ सोमबार १३:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौका मुख्य सडकमा ब्रुमर अर्थात यान्त्रिक कुचोले धुलो उठाउन थालेको झण्डै दुई हप्ता हुन लाग्यो । तर सडकको हालत उस्तै छ । दिनहुँ ब्रुमरले टनका  टन धुलो उठाउँदा पनि सडक चम्किन सकेको छैन ।

त्रिपुरेश्वरमा भेटिएका ट्याक्सी चालक राम तामाङले भन्नुभयो, ‘ब्रुमरले सफा गर्नुअघि र अहिलेको सडकमा खासै फरक देखिएको छैन । रातभरि ब्रुमरले सडक सफा गरे पनि दिउँसो फेरि उस्तै हुन्छ ।’

दिनहुँ जमलको सडक हुँदै कलेज पढ्न जाने अभिप्रताप पाण्डे महानगरको यो कदम स्वागतयोग्य भए पनि सडकमा धुलोको मात्रामा कमी नआएको बताउनुहुन्छ । 

रत्नपार्कमा भेटिनुभएकी यशोदा थापाले भन्नुभयो, ‘ब्रुमर सञ्चालनमा आएपछि त सडकमा धुलो कम हुनुपर्ने होइन र ? सडकमा धुलो त जस्ताको त्यस्तै छ, सडकमा ब्रुमर चलाउनुको के फाइदा ?’ 

सडकपेटीमा हिँड्ने बटुवा र सडक आसपास घर भएका स्थानीयबासिन्दाले ब्रुमर सञ्चालनपछि सडकमा परिवर्तन नदेखिएको बताएका छन् । काठमाण्डौमा डेरा गरी बस्ने धादिङकी पवित्रा क्षेत्रीले महानगरपालिकाले सञ्चालन गर्दै आएको ब्रुमर सबै ठाउँमा उत्तिकै प्रभावकारी र सान्दर्भिक नभएको बताउनुभयो । 

तर सुन्धरामा बसेर ज्योतिषसम्बन्धी सेवा, सल्लाह दिँदै आउनुभएका नारायणप्रसाद रेग्मीले भने पहिलेभन्दा अहिले सडकमा धुलोको मात्रा कम देखिएको बताउनुभयो । ‘काठमाण्डौ उपत्यकाको यो कदमलाई मैले सकारात्मक रुपमा लिएको छु । केही नहुनुभन्दा केही न केही भएको त राम्रो हो । यो ब्रुमर सञ्चालनको कामलाई दीर्घकालीन रुपमा चलाउनुपर्छ र सडकको स्तरोन्नतिमा पनि ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो ।

महानगरपालिकाले गएको १२ गतेदेखि पाँचवटा ब्रुमर अर्थात यान्त्रिक कुचोले सडक सफा गर्दै आएको छ । सञ्चालनको पहिलो दिनमा १८ टन धुलो संकलन गरेको ब्रुमरले अहिले पनि त्यही मात्रामा धुलो उठाउँदै आएको छ । गएको बिहीबारसम्म यी ब्रुमरले १ सय १५ टन धुलो संकलन गरिसकेका छन् । 

दिनहुँजसो ब्रुमर सञ्चालन गर्दा सडकमा धुलोको मात्रा घट्नुपर्ने हो । तर यसो हुन सकेको छैन । काठमाण्डौ महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको दुई हप्ता बित्नै लाग्दा पनि सडकको हालत भने उस्तै छ । धुलोमाण्डौको उपमा पाएको सडक सोचेजसरी चम्केको छैन । 

रातिराति ब्रुमर चलाउँदा पनि धुलोको मात्रा नघटेका बारेमा महानगरपालिकाका वातावरण विभाग प्रमुख तथा ब्रुमर सञ्चालनको नेतृत्व गरिरहनुभएका हरिकुमार श्रेष्ठ भन्नुहुन्छ, ‘अधिकांश ब्रुमर चलाइने क्षेत्रका सडकमा धमाधम निर्माणसम्बन्धी काम भइरहेको हुँदा धुलो नियन्त्रणमा समस्या भएको हो । सडकमा रहेका खाल्डाखुल्डीले पनि ब्रुमर चलाउन गाह्रो भएको छ ।’ 

सडक निर्माणकै पनि काम चलिरहेकाले तत्काललाई ब्रुमर सञ्चालन प्रभावकारी हुन नसकेको हो । भूकम्पपछिको पुनर्निमाणका लागि कतिपय सडकमा निर्माण सामग्री थुपारिएकाले पनि ब्रुमर सञ्चालन प्रभावकारी हुन नसकेको श्रेष्ठ बताउनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया