बालुवाटारकाे विवादित जग्गामा राष्ट्रिय झण्डा गाड्न खाेज्ने विवेकशील नेपाली दलका नेता कार्यकर्ता पक्राउ

 बैशाख ४, २०७६ बुधबार १३:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूमाफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवास पछाडि जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढी नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा भूमाफियामार्फत सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलको नाममा समेत बिक्री गरिएपछि त्यसको विरोधमा विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित उत्रिएका थिए । उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरुले सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउने नागरिकको हकमाथि हनन् गरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

विवेकशील नेपाली दलले प्रधानमन्त्री निवास छेउकै सरकारी जमिन भूमाफियाले कब्जामा लिएको विरोधमा प्रर्दशन सुरु गरेको हो । देशभरका सरकारी जग्गा भूमाफियाको कब्जामा पर्न नदिन सबै सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने अभियान संचालन गर्नु परेको दलका अध्यक्ष थापाले जानकारी दिनु भयो ।

दलका नेता, कार्यकर्ताहरुले बालुवाटारमा रहेको १ सय १४ रोपनी त्याे जग्गा भूमाफियाबाट फिर्ता लिएर नागरिकका लागि उपयोग गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । उनीहरुले सरकारी जग्गा नेताहरुको नाममा आएको पाइएको उल्लेख गर्दै ‘नेता हुन कि भूमाफिया ?’ भनि प्रश्न पनि गरेका थिए ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया