एकतापछि ९ सदस्यीय सचिवालय बन्ने : शीर्ष नेताहरुको वरियता टुंगो लाग्यो

 जेठ ३, २०७५ बिहिबार १६:५५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ३ – एमाले र माओवादीबीच पार्टी एकतापछि ९ सदस्यीय सचिवालय बनाउने सहमति भएको छ । पार्टी सञ्चालनमा महत्वपूर्ण भूमिका रहने सचिवालयमा शीर्ष नेताहरुको वरीयता टुंगो लागेको छ । 

वरियताक्रम अनुसार क्रमशः दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ प्रकाश, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

पौडेललाई महासचिव तथा श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने तयारी छ । पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकता गर्ने दुई दलका शीर्ष नेतृत्वको सहमतिलाई अनुमोदन गरेको छ । आजै घोषणा हुने एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ ।

पार्टीको केन्द्रीय कार्य समिति ४ सय ४१ सदस्यीय हुनेछ । त्यसैगरी त्यसको स्थायी समिति ४३ सदस्यीय रहने बताइएको भए पनि २ सदस्य थप गरी ४५ पुर्‍याइने भएको छ । थपिएकामध्ये १ माओवादी तथा १ एमाले तर्फका हुनेछन् ।

२ सदस्य थप गरिएपछि अब माओवादी १९ र एमाले २६ गरी जम्मा ४५ जना केन्द्रीय समिति सदस्य रहनेछन् । पार्टी एकता संयोजन समितिका सदस्य समेत रहनु भएका एमाले महासचिव इश्वर पोखरेलले ९ सदस्यीय सचिवालय बनाउने सहमति पनि गरिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया