मसानघाटलाई पायक पारेर वडा कार्यालय !

 बैशाख १३, २०७६ शुक्रबार १४:२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्यूठान – कुनै पनि सरकारी निकायको केन्द्र तोक्दा के–के कुरालाइ ध्यान दिइएला ? जनसंख्या, भुगोल र सबैको सहजता । धेरैजसो सरकारी निकायले यिनै मापदण्डलाई आधार मानेर केन्द्र तोक्छन् । केन्द्र यस्तो ठाउँमा तोकिन्छ, जहाँ सम्बन्धित कार्यालयबाट सेवा लिने बहुसंख्यक नागरिकलाई पायक परोस् ।

तर प्यूठानको झिमरुक गाउँपालिका–८ को वडा कार्यालय यस्तो ठाउँमा राखिएको, जहाँ  वडाका बहुसंख्यक मान्छेलाई होइन मसानघाटलाई पायक पर्छ । यो कुरा स्वयं गाउँपालिकाका अध्यक्षले पनि स्वीकार गरेका छन् । वडाअध्यक्ष तुलसबहादुर बस्नेतसहित बहुसंख्यक नागरिकको मागलाई बेवास्ता गरेर गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले झिमरुक गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालय फूलबारी तोक्नुभएको छ । जुन ठाउँ वडा कार्यालयको एउटा छेउ हो ।

झिमरुक गाउँपालिका वडा नम्बर ८ साविककको लिवाङ गाविसका ३ वटा वडा र साविकको तुषारा गाविसको एउटा वडा मिलेर बनेको छ । अहिले वडा केन्द्र राख्ने भनिएको फूलबारी साविकको तुषारा गाविसको एउटा वडा गोब्दीका नागरिकलाई मात्रै पायक पोरेर तोकिएको छ । 

वडा कार्यालय त बहुसंख्यक नागरिकलाई पायक पर्ने ठाउँमा हुनुपर्ने होइन र ? उत्तरमा गाउँपालिकाका अध्यक्ष जिसी भन्नुहुन्छ, ‘हामीले गोब्दी भन्दा केही माथि कार्यालय राखौँ भन्दा वडाध्यक्षले मान्नुभएन, त्यसैले मसानघाट पनि फूलबारी नजिकै भयो, स्कुल पनि भयो, अनि गाउँपालिका झर्नको लागि पनि सजिलो हुने भएर फूलबारीमै केन्द्र राखिएको हो ।’

वडा कार्यालय राख्ने ठाउँको मापदण्ड मसानघाट पनि हो र ? अध्यक्ष तिलकबहादुर जिसी भन्नुहुन्छ, ‘हो हामीले सबै कुरालाई ध्यान दिनुपर्छ, फूलबारीमा वडा कार्यालय राख्दा मसानघाटलाई पनि पायक पर्छ ।’

विवादको श्रृङखला

झिमरुक गाउँपालिका वडा नम्बर ८ मा निर्वाचित हुनेवित्तिकै वडाअध्यक्ष तुलसबहादुर बस्नेतले  वडाको केन्द्र जनता मावि टिमुरचौर हुने बताउनुभएको थियो । किनकी बहुसंख्यक नागरिकलाई पायक पर्ने ठाउँ नै टिमुरचौर थियो । तर गाउँपालिकाका अध्यक्ष तिलकबहादुर जिसीले केन्द्र टिमुरचौर नभइ फूलबारीमा हुने अडान लिनुभयो । फूलबारी भन्दा केही माथि झालापोखरीमा वडाको केन्द्र राख्ने प्रस्तावमा पनि सहमति हुन सकेन । वडा अध्यक्षले टिमुरचौर नै हुनुपर्छ भन्ने र गाउँपालिकाका अध्यक्षले फूलबारी नै हुनुपर्छ भन्ने अडान राखे ।

गाउँपालिकाका अध्यक्षले वडाको पुछारमा रहेको ठाउँ फूलबारीमा नै वडा केन्द्र हुने अडान राखेपछि वडाका अध्यक्ष बस्नेतले वडा सदस्य भागिरथ गिरीको संयोजकत्वमा समिति गठन गरेर भूगोल र जनसंख्या अध्ययन गरेर वडाको केन्द्र तोक्न अध्ययन गर्ने निधो गरे ।

वडाले बनाएको समितिले वडाको एउटा छेउ सेउलीघारी र अर्को छेउँ झुम्दीलाई आधार मानेर अध्ययन गर्दा फूलबारीमा केन्द्र राखेमा झुम्दीका नागरिकलाई १७ किलोमिटर हिड्नुपर्ने भएकाले जनता मावि टिमुरचौरमै केन्द्र राख्दा सबैलाई पायक पर्ने निष्कर्ष निकाल्यो । वडाका सबै दलको सिफारिस मागेर वडाले बनाएको समितिले बनाएको प्रतिवेदन गाउँपालिकामा बुझाइयो तर गाउँपालिकाका अध्यक्षले प्रतिवेदन ठाडै अस्वीकार गरे ।

टिमुरचौरका तिलकबहादुर महताराले भन्नुभयो, ‘वडाको ठूलो बस्ती डाँडामा छ तर केन्द्र खोलाको किनारामा बनाउने भनेका छन्, पहिले त हामीले दुःख पाएकै थियौँ, संघीयतामा पनि दुखै पाउनुपर्ने हो ?’

वडाले बनाएको प्रतिवेदन अनुसार वडा केन्द्र तोक्न अध्यक्ष तिलकबहादुर जिसी असहमत भएपछि वडाअध्यक्ष तुलस बस्नेतले २०७५ सालको पुस २७ गते फेरि गाउँ भेला बोलाउनुभयो । 

राष्ट्रिय जनमोर्चाबाहेक सबै दलका नेता कार्यकर्ता आए र वडाको केन्द्र जनता मावि या झालापोखरी हुनुपर्ने निष्कर्ष निकाले ।  तर गाउँपालिकाका अध्यक्षले न त जनता मावि केन्द्र मान्नुभयो न त झालापोखरी नै । उहाँ वडाको पुछारमा रहेको फूलबारीमै वडाको केन्द्र हुनुपर्छ भन्नेमा टसमस हुनुभएन ।

वडाको विवाद लम्बिँदै गएपछि झिमरुक गाउँपालिकाले २०७५ सालको माघ २९ गते मतदान गर्ने निधो गर्यो । वडा नम्बर पाँचका अध्यक्ष टिकाबहादुर जिसीले फूलबारी, झालापोखरी र जनता मावि टिमुरचौर विकल्प राखेर मतदान आव्हान गरेपछि चुनावभयो । गाउँकार्यपालिकाको दुई तिहाइ मतले वडा नम्बर आठको केन्द्र फुलबारी नै तोक्यो । गाउँपालिकाका अध्यक्ष तिलक जिसीले भनेँझै अन्तत वडा कार्यलय मसानघाट पायक पर्ने ठाउँमा भयो । 

तर चुनावले समस्याको समाधान भन्दा पनि झन् विवाद बढ्यो, वडामा संघर्ष समिति गठन भयो, गाउँलेहरु फुलबारी केन्द्र हुँदै हुँदैन भनेर बस रिजर्भ गरेर जिल्ला समन्वय समिति घेर्न  सदरमुकाम खलंगाा पुगे । प्रदेश सांसद कृष्णध्वज खड्का, हरिप्रसाद रिजाल, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, जिल्ला समन्व्यसमितिका संयोजक केशव आचार्य, जिल्लाका सबै राजनितिक दल र झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीसहितको वार्ता भयो ।

वार्ताले जिल्ला समन्वय समितिका सुरेश रावलको संयोजकत्वमा वडा केन्द्र सिफारिस गर्न तीन सदस्यीय कार्यदल बनायो । वडाको भुगोल जनसंख्याको अध्ययनपछि कार्यदलले केन्द्र झालापोखरी काभ्रारुख हुने निष्कर्ष निकाल्यो । झालापोखरी काभ्रारुख केन्द्र भएमा पनि सहमत हुने बहुसंख्यक गाउँलेले बताए । 

तर सबै दल, सीडीओ, समन्वय समितिका संयोजक सहितले बनाएको कार्यदलले दिएको सुझाव पनि अहिले गाउँपालिकाका अध्यक्ष जिसीले नमान्ने बताउनुभएको छ । उहाँले गाउँ कार्यपालिकाको बहुमतले वडाको केन्द्र फूलबारी नै तोकेकोले त्यहिँ नै केन्द्र हुने अडान राख्दै आउनुभएको छ ।
 
वडाका कर्मचारी गाउँपालिकामा, एक्लै कार्यालय चलाउँछन् वडाअध्यक्ष

विवादकै कारण अहिले झिमरुक गाउँपालिकाको वडा कार्यालय नै छैन । गाउँपालिकाका अध्यक्ष तिलकबहादुर जिसीले वडा नम्बर ८ का कर्मचारी गाउँपालिका मच्छिमा तान्नुभएको त । वडा अध्यक्ष तुलस बस्नेतले टिमुरचौरको रामबहादुर बस्नेतको घरको कोठामा आफ्नो कार्यालय राख्नुभएको छ । जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइ, नागरिकता सिफारिस लगायतका काम वडाध्यक्ष बस्नेतले आफैँ सिफारिस गर्नुहुन्छ ।

‘राजनीतिक प्रतिशोधका कारण गाउँपालिकाका अध्यक्षले वडाका कर्मचारी तानेर गाउँपालिकामै राख्नुभएको छ, वडाको काम म एक्लैले एउटा कोठाबाट चलाउनुपरेको छ ।’ वडाध्यक्ष तुलस बस्नेतले गुनासो गर्नुभयो ।

वडा नम्बर–८ का वडा सचिव, कार्यालय सहयोगी, सामाजिक परिचालक र प्राविधिक सहायक अहिले गाउँपालिकामै रहेका छन् ।

राजनीतिले थिचेको वडा

प्यूठानमा साना विषयमा पनि ठूलो राजनीतिक विवाद हुने विवाद पुरानै रोग हो । यै रोगका कारण प्यूठान अझै पनि विकासमा पछि परेको छ ।

चित्रबहादुर केसीकै जिल्ला बाग्लुङमा पनि निकै कमजोर बनिसकेको राष्ट्रिय जनमोर्चा प्यूठानमा भने बलियो छ । तत्कालीन एमाले र माओवादीको समर्थनमा दूर्गा पौडेल संघीय संसदमा विजयी हुनुभयो भने नौ वटा स्थानीय तहमध्ये २ वटा तह जनमोर्चाले नै जित्यो ।

महामन्त्री मोहनविक्रम सिंहको गाउँ रहेको झिमरुक जनमोर्चाले जित्यो । त्यसपछि झनै राजनीति नहुने त कुरै भएन  ।

झिमरुक गाउँपालिका वडा नम्बर ८ को केन्द्र विवादमा पनि जनमोर्चा जोडिएको  छ । गाउँपालिका जनमोर्चाले जितेको छ । वडा नम्बर ८ तत्कालीन माओवादीले । राष्ट्रिय जनमोर्चाको सबैभन्दा कम मत अहिलेको वडा नम्बर ८ बाट आएको थियो । त्यसैले वडा नम्बर ८ को वडा कार्यालयको लागि ठूलो राजनीति भएको छ ।

वडा नम्बर ८ मा तत्कालीन माओवादीका तुलस बस्नेत ४ सय ८५ मतसहित विजयी हुनभएको थियो । यो वडामा जनमोर्चाले जम्मा २ सय ७८ मत पाएको थियो । त्यो मत गोब्दी र फूलबारी क्षेत्रबाट आएको थियो । त्यसैले गाउँपालिकाका अध्यक्ष तिलकबहादुर जिसीले आफ्नो दललाई भोट दिएको गोब्दी फुलबारी क्षेत्रलाई मात्रै ध्यान दिएर  वडाको पुछारमा वडा केन्द्र राख्न जिद्दी गरेको र गाउँ कार्यपालिकाबाट त्यै जिद्दी पारित गराएको टिमुरचौरबासीको आरोप छ । वडा केन्द्रको विवादले अहिले प्यूठानको राजनीति नै गर्मिएको छ । 


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया