माथिल्लो त्रिशूली थ्री एको परीक्षण प्रसारण आज

 बैशाख २२, २०७६ आइतबार ६:३:२४ | रासस
unn.prixa.net

काठमाण्डाै - माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आइतबारदेखि हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ । 

कूल २२० केभी क्षमताको त्यस प्रसारण लाइनको परीक्षण हुने भएकाले प्रसारण लाइनको टावर वरपरको दाँयाबायाँ १५/१५ मिटर क्षेत्रभित्रको स्थानमा जान वा प्रवेश नगर्नसमेत प्राधिकरणले ध्यानाकर्षण गराएको छ । तोकिएको स्थानमा प्रवेश नगर्न नगराउन तथा कुनै विद्युतीय दुर्घटनाको जोखिममा नपर्नसमेत प्राधिकरणले आग्रह गरेको छ ।

चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएकाे हाे ।  

‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी, पहिरो तथा अन्य प्राकृतिक विपद्मा परेको यस आयोजनालाई पछिल्लो समय प्राधिकरणले विशेष चासो दिएर निर्माण सम्पन्न गरेको हो ।

प्राधिकरणका अनुसार पहिलो चरणमा आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गरिनेछ । यस्तै दोस्रो युनिट भने आगामी असारदेखि सञ्चालनमा ल्याउने तयारीमा छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया