घोराही उपमहानगरपालिकाले अब फोहोरबाट ग्याँस निकाल्ने

 बैशाख २२, २०७६ आइतबार १६:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - फोहोरलाई मोहोरमा बदल्ने घोराही उपमहानगरपालिकाको प्रयास लामो समयपछि सफल हुने भएकाे छ ।

ल्याण्डफिल साइटमा गल्ने फोहोरबाट प्रागांरिक मल बनाएर बिक्री गर्ने योजना सफल हुन नसकेपछि अहिले उपमहानगरले फोहोरबाट ग्याँस निकाल्ने कार्यलाई अगाडि बढाएको हो ।

यसका लागि एक वर्षभित्र ग्याँस उत्पादन गर्नेगरी निजी कम्पनीसँग सम्झौता भैसकेको घोराही उपमहानरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । उपमहानगरले ल्याण्डफिल साइडमा रहेको एक बिघा १५ कठ्ठा जग्गा उपलब्ध गराएको छ भने कन्ट्रयाक्टरको ६० प्रतिशत र ऊर्जा प्रर्बद्धन केन्द्रको ४० प्रतिशत लगानीमा ग्याँस प्लाण्ट निर्माण गर्न लागेको हो । 

ग्याँस उत्पादन सुरु भएपछि आम्दानीको एक प्रतिशत कर उपमहानगरले प्राप्त गर्ने गरी सम्झौता भएको उपमहानगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । घोराही बजारलाई सफा राख्न रकम खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भई त्यही फोहोर आम्दानीको स्रोत बन्ने उपमहानगरको वातावरण महाशाखाले विश्वास लिएको छ ।

घोराही बजारबाट दैनिक २५ देखि ३० टन फोहोर उत्पादन हुने गरेको छ । जिल्लाका अन्य स्थानीय तहको फोहोर घोराही मै व्यवस्थापन गर्न सकिने तर त्यसका लागि सम्बन्धित निकायले फोहोर व्यवस्थापन गरे बापत केही राजश्व आफूहरुलाई तिर्नुपर्ने घोराही उपमहानगरपालिकाको भनाइ छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया