काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्डकाे निर्माण सकियो, परीक्षण प्रसारण सुरु

 बैशाख २२, २०७६ आइतबार १४:३९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सकिएको छ ।

आयोजना अन्तर्गत सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्डको निर्माण सम्पन्न भएपछि शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयाे । 

सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरतर्फ लगिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमकाे थापाटार सबस्टेसनमा जोडिएको छ । ४२।८८ किलोमिटर लम्बाई भएको प्रसारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर छन् । 

‘निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या झेल्दै रुग्ण अवस्थामा पुगेको यो खण्ड स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय लगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं’, घिसिङले भन्नुभयाे, ‘अब त्यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइन अभावमा खेर जाने छैन ।’

उहाँले फिदिम–अमरपुर (पाँचथर) तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइने बताउनुभयाे । 

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । आयोजनाले निर्माण गर्नुपर्ने २६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटाको मात्रै काम बाँकी छ । 

लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारण लाइन २०७२को असोजबाटै सञ्चालनमा आइसकेको छ । आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार ९फिदिम० र अमरपुरमा १३२-३३-११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।

प्रसारण लाइनको बाटो (राइट अफ वे)मा पर्ने जग्गाको सत् प्रतिशत क्षतिपूर्ति दिनु पर्ने, रुट परिवर्तन गर्नु लगायतका माग राखी इलामको मंगलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । समस्या समाधानका लागि कार्यकारी निर्देशक घिसिङ गत वर्ष आफैं आयोजनास्थलमा पुगेर स्थानीयसँग छलफल गर्नुभएकाे थियाे । 

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४।९ मेगावाटको हेवाखोला ‘ए’ र २२।१मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिने छन् । हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । दुवै आयोजना थापाटार सबस्टेसनमा जोडिने छन् । 

१३।३३ किलोमिटर लम्बाई भएको तेस्रो खण्डमा पर्ने ४० वटा टारमध्ये ३९ वटाको निर्माण सकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिनुभयाे । ‘बाँकी एउटा टावर खडा हुँदैछ, करिब ७ किलोमिटर तार तानिसकेका छौँ, बाँकी काम सकेर १५ असारभित्रमा लाइन सञ्चालन गर्नेगरी काम गरिरहेका छौं’,उहाँले भन्नुभयाे । 

३७।६ मेगावाटको काबेली ‘ए’, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको रैराङ लगायतका निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजनाहरुको विद्युत् तेस्रो खण्डमा  जोडिने छ । 

काबेली करिडोर प्रसारण लाइन निर्माण झण्डै १० वर्ष अघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्य सम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो ।

३ करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । 
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया