प्रदेश तीनका ४७ स्थानीय तहमा दमकल, एम्बुलेन्स र शववाहन खरिद गर्न रकम निकासा

 बैशाख २३, २०७६ सोमबार १२:१४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – प्रदेश नम्बर –३ सरकारले हरेक स्थानीय तहका नागरिकलाई सेवा दिने उद्देश्यले एम्बुलेन्स, दमकल र शववाहन खरिद गर्नका लागि रकम पठाएको छ ।

प्रदेश ३ का १ सय १९ वटै स्थानीय तहलाई नागरिकको सहजताका लागि  सेवामुलक सवारी खरिद गर्न प्रस्ताव पठाउन आह्वान गरिएको थियो ।

प्रदेश ३ का ४७ वटा स्थानीय तहले ५० वटा सेवा मुलक सवारी खरिद गर्नका लागि अनुमति पाएका छन् । अनुमति पाएका स्थानीय तहलाई रकम पनि निकासा गरिएको प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो ।

स्थानीय तहमा ५० वटा सवारीका लागि १० करोड ५७ लाख रुपैयाँ निकासा गरिएको मन्त्री ढुंगेलले बताउनुभयो । सेवामुलक सवारीसँगै धेरै जसो स्थानीय तहमा प्रदेश सरकारलाई नागरिकसँग जोडिनका लागि सहज पनि भएको छ । सबै स्थानीय तहलाई सवारी खरिद गर्नका लागि अनुमति दिए लगत्तै काम सुरु गरिएको उहाँले बताउनुभयो ।

दमकल खरिद गर्ने स्थानीय तहले ६० लाख, एम्बुलेन्स खरिद गर्ने स्थानीय तहले १६ लाख र शववाहन खरिद गर्ने स्थानीय तहले ३१ लख रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् । 

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत रकम निकासा गरेको जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया