नेता ठाकुरकाे प्रश्न : भारतीयले नागरिकता लिएकाे भए दिने गृह मन्त्रालय पनि भारतीय हाे ?

 बैशाख २३, २०७६ सोमबार १२:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टी, नेपालका नेता महन्थ ठाकुरले सरकारको नीति तथा कार्यक्रममा आफ्नो पार्टीका लागि केही पनि नभएको दाबी गर्नु भएको छ । 

नेता ठाकुरले सरकारको नीति तथा कार्यक्रममा नयाँपन नभएको पनि बताउनुभयो । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले प्रणाली परिवर्तन भएपनि सरकारको नीति तथा कार्यक्रम परम्परागत शैलीमा प्रस्तुत गरिएको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

नेता ठाकुरले मधेशका नागरिकलाई अझै पनि विदेशी नागरिक ठान्ने गरिएकोमा आपत्ति पनि जनाउनुभयो । उहाँले भारतीयहरुले नागरिकता लिएको भए दिने गृह मन्त्रालय पनि भारतीय हो ? भनि प्रश्न पनि गर्नुभयो । मधेशमा जन्मिएकै कारण आफूहरु राज्यको विभेदको शिकार हुनुपरेको नेता ठाकुरको गुनासो छ । ‘आफ्नै घरमा, आफ्नै खेतबारीमा बसेका मधेशका जनताले विदेशी भनेको पीडा भोगिरहनु परेको छ', नेता ठाकुरले थप्नुभयो, ‘मधेशको भाषा, मधेशको संस्कृतिमाथि विभेद गरेर कसरी नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश भयो ?’

नेता ठाकुरले संघीयता कागज र नक्सामा मात्रै सीमित बनाउने काम भैरहेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नु भयो । उहाँले राज्य झनै निरंकुश भन्दै गएको अनुभूति भैरहेको पनि बताउनु भयो ।

‘सारा अधिकारहरु प्रधानमन्त्री कार्यालयमा केन्द्रित भैरहेको छ । यस्तो अवस्थामा निरंकुशताबाट राज्य र जनता मुक्त छ’ भन्न नमिल्ने नेता ठाकुरको भनाइ छ । उहाँले संविधानमा आफूहरुको सहमति नरहेको पनि दोहोर्‍याउनु भयो । नेता ठाकुरले यो संविधानले नागरिकको मतबाट निर्वाचित आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई अपराधी करार गरेको दाबी पनि गर्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया