सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिकाे सम्बाेधनमा ‘मेरो सरकार’ भन्ने आएकोमा विरोध गरे : प्रधानमन्त्री ओली

 बैशाख २३, २०७६ सोमबार १४:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने आएकोमा विरोध गरेको दाबी गर्नु भएको छ । 

प्रधानमन्त्री ओलीले राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको तर्क पनि गर्नुभयो । गएकाे बुधबार राष्ट्रपति विद्या भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु भएकोमा चर्को आलोचना भैरहेको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भनिएकोमा विरोध गर्नेहरुले भारतीय राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने गरेको हेर्न पनि पटक–पटक आग्रह गर्नु भयो । ‘जननिर्वाचित सरकारलाई राष्ट्रपतिले मेरो सरकार भनेर अपनत्व दिन्छ । स्वीर्काछ’, प्रधानमन्त्री ओलीले थप्नु भयो, ‘मेलै मेरो देश भन्छु तर तपाईँहरुको देश होइन भनेको होइन । मेरो राष्ट्र, मेरो भाषा, मेरो संस्कृति भनेर मैले निजी भनेको हो र ? मैले त राष्ट्रिय सामूहिक भाषाको सर्वोच्च अभिव्यक्ति मात्रै दिएको हो ।’

सोमबार सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेसबाट निर्वाचित भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले भारतीय जनता पार्टीको सरकारलाई पनि पटक–पटक मेरो सरकार भन्ने गरेको दृष्टान्त पनि पेश गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सर्वोच्च पद भएकाले सेना परिचालन गर्ने, संसदले पारित गरेको विधेयकलाई प्रमाणित गर्ने काम गर्ने गरेको पनि स्मरण गराउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया