पैसामा कचकच गर्दा पनि विदेशमा भएकाहरु सम्पर्कबिहीन हुने रहेछन

 असार १९, २०७५ मंगलबार १६:३१:३ | सन्जिता देवकोटा

काठमाडौं – रोजगारीका लागि विदेश पुग्ने सबैले कमाएर फर्किन्छन् भन्ने हुँदैन । कति त विदेशमै सम्पर्कबिहीन पनि भएका छन् । सम्पर्कबिहीनहुने धेरै कारणहरु हुन्छन् ।

विदेशमा गएकाहरु सम्पर्कबिहीनहुनुमा परिवारका सदस्य र विदेशमा हुने दुवै पक्ष उत्तिकै जिम्मेवार हुन्छन् । कतिले समस्यामा परेर परिवारलाई खबर गर्न पाउँदैनन् त कतिले पैसाको कचकच सुन्नुपर्छ भनेर वा अरु कारणले जानाजानी परिवारलाई सम्पर्क गर्दैनन् ।

घरमा बस्ने मानिसले कचकच गर्दा र परदेश पुगेकाहरुले परिवारसँग टाढिन खोज्दा दुवैतिर तनाव बढ्छ । विदेश गएर परिवारसँग सम्पर्क नगर्नुको कारण, उनीहरुलाई खोज्ने उपाय र परदेश गएकालाई परिवारसँग सम्पर्कमै राख्न के गर्नुपर्छ त भन्ने विषयमा प्रवासी नेपाली समन्यव समिति (पिएनसिसी)की कार्यक्रम अधिकृत सीता पन्थ भण्डारीसँग सन्जिता देवकोटाले गरेको कुराकानी ।

विदेश गएकाहरु सम्पर्कबिहीनहुने कस्ता कस्ता कारण हुन्छन् ? 

मैले चाहिँ मानिसहरु दुई कारणले हराएको पाएको छु । एउटा परिबन्धमा परेर । अर्को स्वेच्छाले । अवैधानिक अवस्थामा हुनु, जेल पर्नु, कहिलेकाही परिवारले पैसाको आश धेरै गर्नु र सोचे अनुसारको कमाई गर्न नसक्दा परिबन्धले कतिपय सम्पर्कबिहीनभएको पाएको छु  । 

स्वेच्छाले सम्र्पकविहिन हुनु भनेको विदेशमै विवाह गरेर, त्यहीको ‘लाइफ स्टाइल’ जिइरहेका, कसैले परिवार वा श्रीमतीको बारेमा नराम्रो कुरा सुनाइदिँदा त्यही इखले घरमा सम्पर्क नगर्ने, परिवारिक दवाव, कचकच र पैसाको आश धेरै गर्दा विदेशमा हुनेले बरु फोन नै गर्दिन भनेर पनि परिवारलाई नसम्झिएको पाइन्छ । 

यो अवस्था आउन नदिन घरबासी र परदेशीले के गर्नुपर्छ ?

विदेश जानेले पनि सुखले पैसा कमाउने हैन । दुःखले पैसा कमाइरहेको छन् भनेर परिवारका सदस्यले पनि बुझ्न पर्‍यो । र विदेशमा हुनेले पनि परिवाका मानिसका कुरा बुझ्नुपर्छ ।

अरुले सुनाएको कुराको पछि लाग्नुभन्दा पनि केही खटपट आएमा कुरा गरेर त्यसको समाधान निकाल्नु पर्छ । सबैभन्दा ठूलो कुरा विश्वास हुन पर्‍यो । विदेशमा हुनेले कमाउन सकेको छैन । उसको विदेश बसाई सोचेको जस्तो भएको छैन भने पैसा कमाइनस् भनेर दवाव दिन हुँदैन । विदेशमात्र पनि विकल्प हैन भनेर दुवै पक्षले बुझ्न पर्छ । 

कहिलेकाही यी सबै कुरा राम्रो हुँदाहुँदै पनि एक्कासी सम्पर्कबिहीनभए भन्दै परिवारका सदस्य खोज्न भौतारिएका हुन्छन् । तर जानकारी चाहिँ केही हुँदैन । यस्तो अवस्थामा के गर्न सकिन्छ ?

त्यसका लागि परिवारका सदस्य र विदेशमा हुने दुवैले पहिले नै सावधानी अपनाउन पर्छ । परिवारका मानिसले आफ्नो मान्छे कुन देश जान लागेको हो, कुन काममा जाने हो, कम्पनी कस्तो छ, कुन ठाउँमा छ भन्ने जस्ता कुराको जानकारी राख्नु पर्छ । र त्यो सँगै विदेश जाने मान्छेको पासपोर्टको फोटोकपी, श्रमस्वीकृतीको कपी, जाने बेलामा कुन म्यानपावरबाट गएको हो त्यसको जानकारी र रकम बुझाएको प्रमाण पनि राख्नुपर्छ । 

विदेश जानेले पनि विदेश पुगेपछि आफ्ना साथीको सम्पर्क नम्बर, आफू बस्ने ठाउँ, काम लगायत जानकारी परिवारलाई गराउन पर्छ । त्यसो हुँदा केही परिहाले परिवारका सदस्यले खोज्न पाउँछन् । परिबन्धमा परिहाले उद्धार र खोजी गर्न पनि सजिलो हुन्छ । 

अर्को कुरा विदेश जानेले पनि आफूलाई समस्या परे कहाँ सम्पर्क गर्ने भन्नेबारे जानकारी राख्नुपर्छ भने घरपरिवारले पनि अफन्तलाई समस्या पर्दा उद्धार खोजीका लागि कहाँ जाने भनेर जानकारी राख्नुपर्छ । 

समस्यामा पर्दा विदेशमा हुनेले र परिवारका सदस्यले कहाँ कहाँ सम्पर्क गर्न सक्छन् ?

विदेशमा हुनेले, सबैभन्दा पहिले त नेपाली दूतावासमा सम्पर्क गर्न सक्छन् । उनीहरुले विदेश जानेबेलामा नै दूतावासको सम्पर्क नम्बर ठेगाना जस्ता कुराको जानकारी लिएर जानुपर्छ । अनि, त्यहाँ रहेका विभिन्न संघसंस्थाहरुले पनि समस्यामा पर्दा सहयोग गर्न सक्छन् । 

परिवारका सदस्यले विदेशमा हुनेलाई समस्या परेमा वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग लगायत जिल्लामा रहेको सूचना केन्द्र र विभिन्न संघस्थामा गएर पनि खोजि र उद्धारका लागि सहयोग लिन सक्छन् । यस्तो जानकारी पहिले नै राख्ने गर्नुपर्छ । सबैभन्दा राम्रो कुरा आपसी सम्बन्ध बिग्रन नदिनु हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

3 Comments

  • Hari

    July 4, 2018, 4:27 p.m.

    Huna ta k re k garne bujaon garro xa

  •  0 Reply
  • Shibaman Tamang

    July 3, 2018, 11:40 p.m.

    ghar ma bhayekale bidesh basne ta paisha ko rukh nai ho bhanne bahana banai banai paisha line birami bhako belani paisha paisha bhane karaune ra pathako paisha ni sahi sadupayog nahune dekhda sachikai samparka bihin huna manlagchha

  •  0 Reply
  • Sujan gurung

    July 3, 2018, 5:05 p.m.

    100% सहि कुरा हो दुबै बिच बुझा बुझ हुन प्रर्यो र रोजगारिमा जानेले पनि पनि सोच्न प्रर्यो घरको दुख समस्या हरु र घरको जन परिवारले पनि बुझ्न प्रर्यो बिदेशमा पैसा कमाउन सजिलो छैन दुबै जनामा बुझा बुझ हुन प्रर्यो

  •  0 Reply

तपाईको प्रतिक्रिया