मकालु हिमाल आरोहण गर्न आउने पर्यटकको संख्या बढ्यो

 जेठ २३, २०७६ बिहिबार ९:३:२७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – विश्वको पाँचौ अग्लो मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्ज भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । 

गएको वर्षको तुलनामा यो बर्ष मकालु हिमाल आरोहण गर्न आउने र मकालु बरुण राष्ट्रिय निकुञ्ज अध्ययन र भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरु ८० प्रतिशतले बढेको हो । देशमा शान्ति सुरक्षाको सुव्यवस्था, स्थानीय बाटोघाटो र मुख्य सडकको अवस्था सुधार भएपछि बर्सेनि पर्यटकहरु बढ्न थालेको मकालु बरुण राष्टिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले बताउनुभयो । 

उहाँको अनुसार, गएको आर्थिक वर्ष ०७४/७५ मा सार्क क्षेत्रबाट ४१ जना र त्यसबाहेक अन्य विदेशीहरु एक हजार २ सय ११ जना गरी कुल एक हजार दुई सय ५२ जना पर्यटकहरु आएका थिए । त्यसको तुलनामा आर्थिक वर्षको १० महिनामा नै ८० प्रतिशतले पर्यटकहरु आउने क्रम बृद्धि भएको हो । आर्थिक वर्ष ०७५/७६ को बैशाख सम्मको १० महिनामा मात्रै २ हजार ६९ जना पर्यटकहरु हिमाल आरोहण गर्न र मकालु वरुण राष्ट्रिय निकुञ्जमा अध्ययन र भ्रमणका लागि भित्रिएका छन् । 

जसमा सार्क क्षेत्रबाट एक सय ४ जना, नेपाली दुई सय ४६ जना र विदेशी एक हजार ७ सय १९ जना गरि कुल दुई हजार ६९ जना स्वदेशी तथा विदेशी पर्यटकहरु आएको सूचना अधिकारी पाठकले जानकारी दिनुभयो । 

यो वर्षदेखि आन्तरिक पर्यटक नेपालीहरुलाई समेत मकालु वरुण निकुञ्ज र मकालु बेसक्याम्प जाँदा प्रतिब्यक्ति एक सय रुपैया कर तिर्नुपर्ने नियम बनाइएको छ । अघिल्लो बर्षसम्म नेपालीहरुलाई कर लिने गरेको थिएन । सार्क क्षेत्रमा पर्ने नेपाल बाहेकका ७ वटा देशहरु भारत, चीन, पाकिस्थान, भुटान, श्रीलंका, माल्दिभस र बंगलादेशका नागरिकहरुलाई प्रतिब्यक्ति एक हजार पाँच सय रुपैयाँ र सार्क बाहेकका विदेशीहरुलाई प्रतिब्यक्ति तीन हजार रुपैयाँ कर लिने गरेको निकुञ्जका सूचना अधिकारी पाठकले बताउनभयो ।

उहाँको अनुसार, मकालु वरुण राष्टिय निकुञ्जको मुख्य ५ वटा हटिया, ताम्कु, बुङ र मेरापिकमा रहेको सेक्टरहरुबाट पर्यटकहरुले अनुमति लिने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमनको तथ्याङ्क संकलन गरी मन्त्रालय र विभागमा प्रत्येक महिना डाटा पठाउने गरेको पाठकले बताउनुभयो । 

मकालु बरुण राष्टिय निकुञ्जमा चोरीसिकारी र निकासीलगायतका गतिविधिहरु नियन्त्रण गर्न ५ वटा मुख्य सेक्टर र १३ वटा पोष्ट खडा गरिएको छ । सेक्टर र पोष्टहरुले मात्रै मकालु वरुण निकुञ्जमा हुने चोरीसिकारी र निकासी नियन्त्रण हुन नसकेको भन्दै करिब तीन वर्ष अघिदेखि मात्रै सिलिचोङ गाउँपालिकाको ताम्कु र मकालु गाउँपालिकाको हेदाङ्गनामा नेपाली सेनाको क्याम्प समेत स्थापना गरी निकुञ्जको सुरक्षाको लागि खटाइएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्जमा मात्रै चार सयभन्दा बढि प्रजातिका पुतली, लोपोन्मुख काँडेभ्याकुर, अन्य विभिन्न लोपोन्मुख जीवजन्तु र हिमाली कालो भालु समेत रहेको बताइएको छ । मकालु वरुण राष्टिय निकुञ्ज क्षेत्रभित्र नै विश्वको पाँचौ अग्लो मकालु हिमाल समेत पर्दछ । यहाँका आउनुको मुख्य आकर्षणहरु मकालु बेसक्याम्पको सौन्दर्य र मकालु हिमाल आरोहण त्यसका साथै विभिन्न जीवजन्तुहरुको भ्रमण र अध्ययन नै हो । विदेशीहरु महिनौ दिन सम्म मकालु निकुञ्ज भित्र अध्ययन र भ्रमणका लागी बस्ने गरेको समेत सूचना अधिकारी पाठकले बताउनुभयो ।

अधिकांश विदेशी पर्यटकहरु तुम्लिङटार विमानस्थलमा जहाजबाट ओर्लिएर डाँडाकाँडा, पहाड भञ्जाङ र गाउँबेशीको दृश्यावलोकन गर्दै पैदल नै जाने गर्दछन् । भने कतिपय पर्यटकहरु चाँही तुम्लिङटारबाट सिधै गाडीमा नुमसम्म पुग्ने गरेका छन् । नुमबाट माथि मकालु बेसक्याम्प र मकालु वरुण निकुञ्ज जानलाई पैदल मार्ग जानु पर्ने हुन्छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया