कांग्रेस सांसद भुषालकाे प्रश्न : अर्थमन्त्रीज्यू, आफूजस्तै नेपाली जनतालाई कहिले बनाउने ?

 जेठ २३, २०७६ बिहिबार १३:५१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गर्नुभएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागि हुदै उहाँले शक्तिशाली सरकारका अगाडि देश बनाउने ठूलो अवसर भए पनि बजेट बरालिएर आएको बताउनुभएको हो । पूँजीगत खर्च देखेर आफूहरुलाई निरास बनाएको भन्दै उहाँले कार्यकर्तालाई, नेतालाई खुशी पार्नका लागि बजेट दुरुपयोग हुन सक्ने आशंका गर्नुभयो । विगतमा श्री ३ को र श्री ५ को बाहुलीमा रकम चढाए जस्तै गरी प्रधानमन्त्रीको कार्यालयलाई रकम चढाउने ढंगले अत्यन्तै वितरणमुखी बजेट आएको दाबी उहाँले गर्नुभयो ।  

तत्कालीन प्रधानामन्त्री बीपी कोइरालाले देशको आर्थिक नीति बनाउने क्रममा ‘म मेरो नेपाली जनतालाई १५ वर्षमा म जत्तिकै बनाउँछु’ भनेर उद्घोष गरेको स्मरण गर्दे उहाँले अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो, 'आज म अर्थमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु । अर्थमन्त्रीज्यू, आफ्नो क्षमता, आफ्नो योग्यता, आफूजस्तै नेपाली जनतालाई कहिले बनाउने ? यस्तो बरालिएको बजेटले नेपाली जनतालाई अर्थमन्त्री जत्तिको बनाउन सक्दैन '

उहाँले संघीयता विरोधी बजेट आएको भन्दै संशाेधनको माग गर्नुभयो । उहाँले बजेट संघीयता विरोधी भएको , बजेटले प्रदेशको उन्नति र समृद्धि भन्दा सिंहदरबारको समृद्धि र केन्द्रको सम्मृद्धि तफै आँखा लगाएको टिप्पणी गर्नुभयो । 

नेपाली कांग्रेसको सरकारको समयमा धेरै युवाहरु विदेश गए भन्ने भनाइमा सत्यता नभएको भन्दै उहाँले तथ्यांक हेर्न आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेसको सरकारको समयमा देशभित्र धेरै रोजगारी सिर्जना भएको दाबी समेत गर्नुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया