योगीकोटी–धकधई प्रसारण लाइन सञ्चालनमा,भैरहवा क्षेत्रको विद्युत् आपूर्ति सुधार हुने

 जेठ २७, २०७६ सोमबार १४:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुपन्देहीमा निर्माण भएको झण्डै ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

औद्योगिक क्षेत्रको रुपमा तीव्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारबाट सञ्चालनमा आएको हो ।

भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत आपूर्तिका लागि निर्माण गरिएको ३३/११ केभीको सबस्टेसनको पनि परीक्षण सुरु भएको छ । 

योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र  विश्वसनीय हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयाे । 

‘योगीकुटी सबस्टेसनबाट ४-५ वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्या थियो भने माग अनुसार विद्युत आपूर्ति गर्न सकिरहेका थिएनौं’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयाे, ‘योगीकुटी–धकधई प्रसारण लाइन र धकधई सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा रहेको लो भोल्टेज, लाइन ट्रिपिङलगायतका समस्या समाधान हुने छन्, ३३ केभी लाइन ओभरलोडका कारणले बढेको प्राविधिक चुहावट घट्ने छ भने भैरहवा क्षेत्रमा खुल्ने नयाँ उद्योगलाई विद्युत् आपूर्ति दिन सक्नेछौं ।’ 

उहाँले भैरहवा सेज परिसरभित्र सबस्टेसन नबने पनि तत्कालका लागि धकधई सबस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत् दिन सकिने बताउनुभयाे । आफ्नो परिसरभित्र ३३/११ केभी सबस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ । सेजभित्र सबस्टेसन निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको बताइएको छ । धकधई सबस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारण लाइन पनि निर्माणाधीन छ । 

नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा सञ्चालित विद्युत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत योगीकुटी–धकधई प्रसारण लाइन र धकधइ सबस्टेसन निर्माण गरिएको हो । आयोजना अन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सबस्टेसन निर्माणका लागि २०७३को असोजमा ठेक्का सम्झौता भएको थियो । केही सबस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयाे । 

बझाङको बाघथला सबस्टेसन सञ्चालन

सुदूरपश्चिम प्रदेशको बझाङमा विद्युतको पहुँच बढाउन, गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माण गरिएको बाघथला सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण भएको ३३/११ केभी सबस्टेसन सोमबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको हो ।

सबस्टेसनबाट  बुंगल नगरपालिका र केदारस्यूँ, वित्थडचिर,थलारा तथा दुर्गाथली गाउँपालिका बासिन्दा लाभान्वित हुने प्राधिकरण अत्तरिया क्षेत्रीय कार्यालय प्रमुख सतिशकुमार कर्णले जानकारी दिनुभयाे । उहाँले बैतडीको खोर्पेबाट करिब ५० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट विद्युत् लगेर बाघथला सबस्टेसनमार्फत वितरण गरिएको बताउनुभयाे । सबस्टेसन निर्माणका लागि २०७४को वैशाखमा ५ करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

सुर्खेतको बबियाचौर सबस्स्टेसनको निर्माण सम्पन्न

सुर्खेतको ग्रमीण क्षेत्रमा विद्युतीकरणका लागि निर्माण गरिएको ३३/११ केभी बबियाचौर सबस्टेसनको निर्माण सम्पन्न भएको छ । सबस्टेसनबाट सुर्खेतको चार गाउँपालिकामा विद्युतीकरण गर्न सकिने प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिनुभयाे । 

वीरेन्द्रनगरबाट बबियाचौरसम्मको  झण्डै ४० किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ । लाइन निर्माणमा वन क्षेत्रको प्रयोग लगायतका कारणले समस्या छ । यसले गर्दा निर्माण प्रभावित भएको सिंहले बताउनुभयाे । उहाँले वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या समाधानका लागि पहल भइरहेको र निर्माणमा कुनै अवरोध नभएमा तीन महिनाभित्रमा बबियाचौरमा विद्युत् पुर्‍याउन सकिने बताउनुभयाे । त्यसपछि सबस्टेसन चार्ज गरी सञ्चालनमा आउने छ ।

सबस्टेसन निर्माणका लागि २०७२मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसनबाट विद्युत वितरणका लागि टेण्डर भइसकेको सिंहले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया