४५ लागे जितु नेपाल

 असार १, २०७६ आइतबार ११:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

हास्य कलाकार जितु नेपालको आइतबार जन्मदिन परेको छ । विक्रम संवत २०३२ साल असार १ गते पिता शशिधर नेपाल र माता योगमाया नेपालको कोखबाट सिन्धुपाल्चोकमा जन्मिएका नेपाल परिवारको कान्छोे सन्तान हुन् ।

टेलिसिरियल ‘ट्वाक्क टुक्क’बाट टेलिभिजनमा ब्रेक लिएका जितुले हास्य कलाकारको रुपमा स्थापित हुनुभन्दा अगाडि केही सिनेमाहरुमा काम गर्ने अवसर पाएका थिए । त्यहि अवसर मध्येको एक ठूलो अवसर थियो सिनेमा ‘दर्पण छायाँ’ ।  सिनेमामा सहायक अभिनेताको रुपमा काम गरेपछि जितुले यसबाट सिनेमाको मुख्य कलाकारको जस्तै सम्मान र स्थान पाएका थिए । 

तुलसी घिमिरेको निर्देशनमा  १७ वर्ष अघि बनेको  यस सिनेमामा काम गर्न पाउनु करिअरको सुनौलो अवसर भएको उनी बताउँछन् । ‘दर्पण छायाँ’ भन्दा अगाडि उनले झण्डै  १५ वटा सिनेमामा काम गरेका थिए । तर ती सानातिना भूमिका थिए । 

टेलिभिजनमा ट्वाक्क टुक्क, सँगालो, मुक्ति, गीतान्जली हुँदै ‘जिरे खुर्सानी’सम्मको यात्रा तय गर्दा उनको करिअरले नयाँ मोड लियो । उनलाई ‘जिरे खुर्सानी’मा मुन्द्रेको रुपमा प्रस्तुत हुँदा दर्शकले मन पराए ।  मुन्द्रेको रुपमा चिनिएसँगै उनलाई देश विदेशमा स्टेज कार्यक्रमहरुको अफर आउन थाल्यो । मुन्द्रे बनेसँगै उनको व्यस्तता पनि उत्तिकै बढ्यो जुन अहिले पनि कायमै छ ।

पछिल्लो समय उनी टेलिसिरियलमा नभएर मुन्द्रको कमेडी क्लब नामक हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यतिबेला उनी सिनेमा छ माया छपक्कैको छायांनमा व्यस्त छन् । उनी सिनेमा छ माया छपक्कैका कार्यकारी निर्माता समेत हुन् । विशेष त हास्य कलाकारहरुको टिमले निर्माण गरेका सिनेमाहरुमा उनको अभिनय रहँदै आएको छ ।
 
करिअरसँगै व्यक्तिगत जीवनलाई पनि व्यवस्थित गरेर अगाडि लाने कलाकारमा पर्छन् जितु । उनले १६ वर्ष अघि मुना राउत सँग लगनगाँठो कसे । राउतसँग नेपालले परिवारकै सरसल्लाहमा मागि बिहे गरेका हुन् । यो जोडी १३ वर्षीया छोरी र ११ वर्षीय छोराको अभिभावक बनिसकेको छ । 

–उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया