पत्रकारमाथि सांघातिक आक्रामण गर्नेलाई कारबाहीकाे माग

 असार ६, २०७६ शुक्रबार १७:४५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सल्लेरी खबरडटकमका प्रबन्ध निर्देशक सुदर्शन बुढाथोकीले समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रमणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएकाे छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रबन्ध निर्देशक सुदर्शन बुढाथोकीले सम्पादक बस्नेतमाथि गएकाे असार ५ गते समाचार संकलनका क्रममा भक्तपुरको लोकन्थलीमा शैलेश श्रेष्ठ र सञ्जय लामासहितका समूहले सांघातिक आक्रमण गरेको जानकारी दिनुभयाे । आक्रमणबाट पत्रकार बस्नेतको टाउकोलगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको छ । अहिले उहाँको काठमाण्डौकाे अन्नपूर्ण न्यूरोमा उपचार भैरहेको छ । 

कार्यक्रममा प्रबन्ध निर्देशक सुदर्शन बुढाथोकीले पत्रकार बस्नेतमाथि आक्रामण गर्नेमध्ये एकजनालाई पक्राउ गरेको तर मुख्य आक्रमणकारीलाई प्रहरीले पक्राउ नगरेको पनि गुनासो गर्नुभयाे । 

उहाँले भन्नुभयाे,‘पत्रकारलाई आक्रमण गर्नेहरु माथिको पावरमा सुरक्षित छन् भनिएको छ । हामीले आजमात्रै किटानी जाहेरी दिएका छौँ। अब हेरौं, दोषीलाई कारबाही हुन्छ कि हुँदैन ।’ 

त्यस दिन भएको सांघातिक आक्रमणको अडियो रेकर्ड पनि आफूहरुसँग सुरक्षित रहेको बुढाथोकीले जनाउनुभयाे । उहाँले अगाडि भन्नुभयाे,‘हाम्रो सम्पादक बस्नेतजी समाचार संकलनको क्रममा सांघातिक आक्रमणमा पर्नुभयो । त्यति बेला उहाँले घटनाको सम्पूर्ण कुरा अडियोमा रेकर्ड गराउनुभएको थियो ।’

घट्नाबारे पत्रकार महासंघले समेत आज प्रेस विज्ञप्ति जारी गरेर निन्दा गरेको छ । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया