फोरजी सेवा विस्तारका लागि सीजीले गर्‍यो हुवावेसँग ११ अर्बको सम्झौता

 असार १७, २०७६ मंगलबार १६:२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चौधरी ग्रुप(सीजी) ले नेपालमा फोरजी सेवा विस्तार गर्न चिनियाँ कम्पनी हुवावेसँग सम्झौता गरेको छ ।

नेपालका ग्रामीण भेगमा सञ्चार सेवा उपलब्ध गराइरहेको सीजीले फोरजी सेवा विस्तारका लागि हुवावेसँग एक सय मिलियन अमेरिकी डलर(झण्डै ११ अर्ब नेपाली रुपैयाँ) बराबरको सम्झौता गरेको समाचार रोयटर्सले लेखेको छ ।

अमेरिकासँग सुरक्षा चुनौतीलाई लिएर विवाद भैरहेका बेला सीजीले हुवावेसँग महत्वपूर्ण सम्झौता गरेको हो । रोयटर्ससँगको कुराकानीमा सीजीका अध्यक्ष विनोद चौधरीले नेपालको मोबाइल सेवाको बजारमा आक्रामक रुपमा प्रस्तुत हुने बताउनु भएको छ । उहाँले भारतमा रिलायन्सको जियोले झैँ नेपालमा सीजीले मोबाइन फोन सेवा विस्तार गर्ने बताउनुभयो । सीजीले सुरुमा फोरजी विस्तारका लागि झण्डै २५ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने भएको छ । सीजीले फ्री भ्वाइस सर्भिस दिने भए पनि डेटा, अनलाइन भुक्तानी तथा अन्य सेवामा केन्द्रित हुने बताएको छ । 

हुवावेले फोरजी विस्तारका लागि चौधरी ग्रुपलाई ११ अर्ब बराबरको सञ्चार उपकरण उपलब्ध गराउने भएको छ । सुरुमा फोरजी सेवा उपलब्ध गराए पनि त्यसलाई चाँडै नै फाइभ जीमा स्तरोन्नति गरिने अध्यक्ष चौधरीले बताउनुभयो । ‘हुवावेले अहिले सरकारमातहतको दूरसञ्चार कम्पनीसँग सहकार्य गरिरहेको छ, अब उनीहरुले हामीसँग पनि सहकार्य गर्नेछन्’, चौधरीले भन्नुभयो । 

हुवावे फाइभ जी उपकरण बनाउने विश्वकै अग्रणी कम्पनी हो । यसले विश्वका धेरै दूरसञ्चार कम्पनीसँग सहकार्य गरिरहेको छ ।  पछिल्लो समय अमेरिकाले हुवावेका उपकरणले सुरक्षा चुनौती थपिने भन्दै उसका सामग्री प्रयोग नगर्न दबाब दिँदै आएको छ । तर हुवावेले भने आफ्ना उपकरणले कुनै पनि प्रकारको सुरक्षा चुनौती नआउने स्पष्ट पार्दै आएको छ । 

फोरजी विस्तारका लागि चौधरी ग्रुपले टर्कीको टर्कसेलसँग प्रविधि र डिजाइनका लागि सम्झौता गरिसकेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले चौधरी ग्रपुले शहरी क्षेत्रमा समेत सेवा विस्तारको लाइसेन्सका लागि अनुमति मागेको बताउनुभयो । चौधरी ग्रुपले निर्धारित मापदण्ड पूरा गरे लाइसेन्स दिन कुनै समस्या नभएको प्रवक्ता अर्यालले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया