क्रोएसियाविरुद्ध चमत्कार देखाउँदै सेमिफाइनल पुग्ने दाउमा रुस

 असार २३, २०७५ शनिबार १२:४३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको अन्तिम क्वार्टरफाइनलमा आज राति आयोजक राष्ट्र रुस र क्रोएसिया भिड्दैछन् । 

प्रि–क्वार्टरफाइनलमा स्पेनलाई पाखा लगाएको रसिया र डेनमार्कलाई हराएको क्रोएसियाबीचको खेल नेपाली समय अनुसार पौने १२ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

सन् १९६६ मा तत्कालीन सोभियत संघको रुपमा चौथो बनेको रसिया समग्रमा दोस्रो पटक क्वार्टरफाइनल खेल्दैछ । क्वार्टरफाइनल पुग्नका लागि रसियाले ठूलै चमत्कार गरेको थियो । समूह चरणमा दुई जित हात पारेको रुसले प्रि–क्वार्टरफाइनलमा दाबेदारमध्येको एक स्पेनलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।

सन् १९९८ पछिकै सबैभन्दा बलियो टिम मानिएको क्रोएसियाले भने उत्कृष्ट प्रदर्शन गरेको थियो । समूह चरणमा अर्जेन्टिनालाई निरीह बनाउँदै विजेता बनेको क्रोएसियाले सनसनीपूर्ण पि–्रक्वार्टरफाइनलमा डेनमार्कलाई पाखा लगाउँदै रसियासँगको भेट पक्का गरेको थियो ।

तुलानात्मक रुपमा कमजोर देखिएको रसिया विश्व फुटबल जगतलाई आश्चर्यचकित बनाउँदै सेमिफाइनलमा पुग्न तयार छ । ९८ मा तेस्रो स्थान हासिल गरेको क्रोएसिया इतिहास दोहोर्‍याउने मात्र हाइन्, त्यसबेला भन्दा ठूलो सफलता हात पार्ने लक्ष्यमा छन् । यसको अर्थ फाइनलसम्म पुग्ने लक्ष्यमा छ । मिडफिल्डर इभान पेरिसिचले २० वर्षपछि क्रोएसिया विश्व फुटबलका महारथि भनिएका टिमहरुलाई स्तब्ध बनाउन तयार रहेको प्रतिक्रिया दिए ।

लुका मोड्रिच र इभान राकिटिचको नेतृत्वमा रहेको नयाँ पुस्ताले ठूलो सफलताको सपना देखेका छन् । ‘सफलताको धेरै नजिक आइसकेका छौँ । हामी आफ्नो क्षमताका बारेमा राम्रोसँग परिचित छौं र आफूमा विश्वास गर्दछौं ।’ मिडफिल्डर पेरिसिचले भने ।

सन् १९९८ मा पहिलो सहभागितामा नै क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । डेभोर सुकर, भोमिनिर बोबान र रोबर्ट प्रोसिनेकी जस्ता स्टार खेलाडीले क्वार्टरफाइनलमा जर्मनीलाई स्तब्ध बनाएको थियो । सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको क्रोएसियाले तेस्रो स्थानको प्लेअफमा नेदरल्याण्डलाई हराएको थियो ।

‘म चार वर्षको हुँदा फ्रान्समा भएको त्यो विश्वकपमा जर्मनीलाई हराएको क्षण अझ पनि सम्झिन्छु ।’ फरवार्ड एन्टे रेविचले भने, ‘घरको बगैंचामा हामीले खुसियाली मनायौं, वातावरण निकै रमाइलो थियो ।’

तर त्यहाँ पुग्नका लागि क्रोएसियाले पहिला रसियालाई पाखा लगाउनु पर्नेछ । जुन टिम सन् २०१० को च्याम्पियन स्पेनलाई हराएर आत्मविश्वासी बनेको छ ।
रुसका लागि युरी भिरकोभ र एलन जागोएभको फिटनेस चिन्ताको विषय बनेको छ । स्पेनलाई नियमित र अतिरिक्त समयमा १–१ गोलको बराबरीमा रोक्दै रुस पेनाल्टी सुटआउटमा विजयी भएको थियो । पेनाल्टी सुटआउटमा इगोर अकिनसिभ नायक बन्दै दुईवटा पेनाल्टी जोगाएका थिए ।

अलेक्सान्दर गोलोभिन प्रि–क्वार्टरफाइनल यसरी सम्झिन्छन्, ‘स्पेन बल पोसेसन जमाउन खप्पिस छ तर हामीले त्यसलाई रोक्नका लागि समाधान भेटेका थियौं ।’

क्रोएसियाविरुद्ध हामी आफ्नो खेल्ने शैलीलाई सफल बनाउनेछौँ । यसको अर्थ क्रोएसिया स्पेनभन्दा कमजोर छ भन्ने होइन । तर उसले छुट्टै शैलीको फुटबल खेल्दै आएको छ’, गोलोभिनले भने ।

म्याच फ्याक्ट्स

–पछिल्लो पाँच विश्वकपमा क्वार्टरफाइनल पुगेका सबै आयोजक (इटाली १९९०, फ्रान्स १९९८, दक्षिण कोरिया २००२, जर्मनी २००६ र ब्राजिल २०१४) सेमिफाइनलमा पुगेका छन् ।

–क्रोएसियाले अघिल्ला दुई विश्वकपमा ६ खेलमा जति गोल (८) गरेको थियो, त्यति गोल उसले यो संस्करणमा चार खेलमा गरिसकेको छ ।

–पहिलो दुई खेलमा १० वटा सट टार्गेटमा हानेको रसियाले पछिल्लो दुई खेलमा भने दुईवटामात्र हान्न सफल भएको छ । त्यसमध्ये एउटा सट स्पेनविरुद्ध अर्तेम ज्युबाको पेनाल्टी थियो ।

–पहिलो दुई खेलमा गोल नखाएको क्रोएसियाले पछिल्लो दुई खेलमा भने एक–एक गोल खाएको छ ।

–युरोपेली प्रतिद्वन्द्वीविरुद्ध क्रोएसियाले सातमध्ये एक खेलमात्र गुमाएको छ । तर रसियाले विश्वकपमा स्पेनबाहेक कुनै पनि युरोपेली टिममाथि जित हात पार्न सकेको छैन ।

–विश्वकपमा क्रोएसियाका पछिल्लो १२ गोल दोस्रो हाफमा भएका छन् ।

–क्रोएसियाले यसअघि दुई पटक आयोजक राष्ट्रसँग खेलेको थियो, तर दुवै खेलमा उसले पराजय भोग्यो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया