सुडान घोटालामा संलग्न रहेका पूर्व आईजीपी ठकुरीले गरे अदालतसमक्ष आत्मसमर्पण

 असार १९, २०७६ बिहिबार १७:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - सुडान घोटाला काण्डमा दोषी ठहर भएर फरार रहेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले सर्वोच्च अदातलमा आत्मसमर्पण गर्नुभएको छ ।

ठकुरी आफै अदालतमा उपस्थित भएको र थुनामा नराखीकनै मुद्दाको पुनरावलोकन गर्ने मागसहितको निवेदन दिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

दुई वर्षअघि नै तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीसहितको इजलासले ठकुरीलाई सुडानको डार्फरमा खटिने नेपाली मिसनको लागि सामग्री खरिदमा घोटाला गरेको ठहर गरेको थियो ।  चन्दलाई सर्वोच्चले १ बर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना सुनाएको थियो ।

यस्तै पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक दिपकसिंह थाङदेन, पूर्वप्रहरी नायब महानिरीक्षक दीपक श्रेष्ठ लगायतलाई पनि सर्वोच्चले दोषी ठहर गरेको थियो । सुडान मिसनमा प्रहरी कल्याणकोषबाट खर्च गरिएको ४५ करोड ४२ लाखमध्ये करिब २९ करोड घोटाला भएको र त्यो रकम पूर्व आइजिपी रमेश ठकुरीको कार्यकालमा भुक्तानी भएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते २८ करोड ८१ लाख रुपैयाँ माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले तीन पूर्वप्रहरी प्रमुखसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका तत्कालिन अध्यक्ष गौरीबहादुर कार्की लगायतको टोलीको फैसलाले एपीसी प्रकरणमा जोडिएका ठेकेदार र तीन पूर्व प्रहरी प्रमुखबाट एक अर्ब १४ करोड रुपैयाँ असुल्नुपर्ने ठहर गरेको थियो । तर, विशेषको फैसलामाथि पुनरावेदनको माग गर्दै प्रहरी अधिकृतहरु सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले विशेष अदालतमा मुद्दा दायर भएको चार वर्षपछि अन्तिम फैसला गरेको थियो । फैसला भएको २ वर्षसम्म ठकुरी फरार रहँदै आउनुभएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया