बिग्रिएको ट्रक हटाउन नसक्दा नागढुंगामा २४ घण्टादेखि गाडीको चाप

 असार २०, २०७६ शुक्रबार ८:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मुख्य नाका नागढुंगामा हिजोदेखिको गाडीको चाप अझै कम हुन सकेको छैन । नागढुंगा नजिकै धादिङको सिक्रेखोलामा बिहीबार बिहान बिग्रिएको ट्रक हटाउन नसक्दा गाडी ओहोरदोहोरमा समस्या भएको हो । 

ट्रक बिग्रिएको ठाउँमा एकतर्फी मात्र गाडी सञ्चालन हुँदा काठमाण्डौ भित्रिने र काठमाण्डौबाट बाहिरिने गाडीको लामो लाइन लागेको छ । काठमाण्डौ भित्रिने गाडीको लाइन खानीखोलासम्म र काठमाण्डौबाट छुटेका गाडीको लाइन नागढुंगासम्म पुगेको छ ।

प्रहरीका अनुसार मार्बल बोकेर काठमाण्डौका लागि छुटेको भारतीय नम्बर प्लेटको ठूलो ट्रक बीच सडकमै बिहीबार बिहान ६ बजेतिर बिग्रिएको हो । बिग्रिएको ट्रक बनाउन पनि नसकिएको र क्रेनले हटाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आलोपालो गरेर एक लेनमा गाडी गुडिरहेकाले चाप भएको हो । अझै केही घण्टा यो सडकखण्डमा चापमा गाडी गुड्ने ट्राफिक प्रहरीले जनाएको छ । 

काठमाण्डौ प्रवेश गर्ने यो मुख्य सडकखण्डमा बाटो साँघुरो र गाडीको चाप धेरै हुने हुँदा एउटा गाडी बिग्रँदा पनि लामो जाम हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया