जोरायल गाउँपालिका फेरि विवादमा

 असार २२, २०७६ आइतबार ८:५४:३४ | विमल बिष्ट
unn.prixa.net

डोटी – चलचित्र निर्माणका लागि १० लाख रुपैयाँ दिएको बारेमा निकै विवादमा परेको  डोटीको जोरायल गाउँपालिका फेरि विवादमा तानिएको छ । गाउँपालिकाले एफएम सञ्चालन गर्न भुक्तानी दिएको वर्षदिन बितिसक्दा पनि एफएम सञ्चालनमा नआएको भन्दै स्थानीयस्तरमा असन्तुष्टी बढेको छ । जोरायल गाउँपालिकाले  सामुदायिक रेडियो घण्टेश्वर एफएम सञ्चालनका लागि गएको वर्ष असार ३२ गते ११ लाख रुपैयाँ भुक्तानी गरेको थियो । तर अझै एफएम सञ्चालन त परै जाओस्, एफएमका उपकरण समेत नआएको भन्दै स्थानीयले गाउँपालिकाको रकम दुरुपयोग भएको आरोप लगाएका छन् ।

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझले भने यसको खण्डन गर्दै आउनु भएको छ । गाउँसभाको बैठकले निर्णय पारित गरि सम्झौता अनुसार रेडियो सञ्चालनार्थ आवश्यक सामाग्री खरिद गर्न भुक्तानी दिइएको अध्यक्ष ओझाले बताउनुभयो । ‘सञ्चारमाध्यमको प्रवद्र्धन र विकासका लागि सहयोग गर्नु गल्ती हो भने मेरो भन्नु केही छैन’, गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो, ‘सुरुमा पत्रकार शंकर थापाले सञ्चालनका लागि २५ लाख रुपैयाँ बराबरको प्रस्ताव ल्याउनु भएको थियो, हामीले न्यूनतम आवश्यक सामाग्री खरिदका लागि ११ लाख रुपैयाँसम्म दिनसक्ने शर्त सम्झौता गरि भुक्तानी दिएका हौं, किन बनाएन सम्बन्धित मान्छेलाई थाहा होला ।’ 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समिर भण्डारीले सामग्री खरिद गरेर ल्याइसकेकाले आफुले भुक्तानी दिएको दावी गर्नुभयो । ‘प्रकृयागत रुपमा बजेट बिनियोजन भएको छ, त्यही अनुसार सम्झौता पनि गरिएको छ,’ भण्डारीले भन्नुभयो, ‘उहाँले सामग्री खरिद गरेका बिल भर्पाइ ल्याएपछि भुक्तानी दिइएको हो । अब सञ्चालन किन भएन भन्ने कुरा मलाई थाहा भएन ।’

एफएमका अध्यक्ष समेत रहेका पत्रत्रकार शंकर थापाले भने व्यक्तिगत रिसीइबीका कारण आफूलाई बद्नाम गर्ने प्रयत्न भएको बताउनुभयो । उहाँले गाउँपालिकाबाट प्राप्त रकमले टावर, ट्रान्सफर्मर लगायतका सामाग्री खरिद भइसकेको दावी गर्नुभयो । ‘गाउँपालिकाले भुक्तानी   गरेको रकम बराबरको सामाग्री ल्याएको छैन भने दुरुपयोग गरेको मान्न सकिन्छ, त्यो हेर्दै  नहेरी मेरो चरित्र हत्या गर्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘एफएम प्राविधिक विषय भएकाले भनेकै समयमा सुरुवात गर्न कठिन हुन्छ, अर्को कुरा सामुदायिक  रेडियो भएकाले आर्थिक स्रोत पनि जुटाउन कठिनाई भयो र सञ्चालन गर्न ढिलो भएको हो ।’ 

उहाँले टावर जडान कार्य केही दिनमा सुरु भई दसैँअघि नै एफएम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । तर स्थानीय स्तरमा भने विभिन्न ठाउँबाट बजेट संकलन गरी रकम कुम्ल्याउने चलखेल भएको आरोप छ । ‘एफएम सञ्चालनका लागि खरिद भएका सबै बिल भर्पाई नक्कली हुन्, हामी त्यसको अनुसन्धान पनि गरिरहेका छौँ’, जोरायल गाउँपालिका वडान ५ गड्सेराका बासिन्दा एवम् कांग्रेस नेता सोपान बोहराले भन्नुभयो, ‘पर्याप्त स्रोत र तयारी बिना गाउँपालिकाको बजेट लगेर एक वर्षसम्म कसैले थन्काउन मिल्छ ?’ यदि गएको वर्ष एफएम सञ्चालन नहुने अवस्था थियो भने अन्य तयारी गरेर यो वर्ष रकम लिएको भए पनि नियतमाथि प्रश्न उठ्ने अवस्था नआउने बोहराले बताउनुभयो ।

दिपायलमा निर्माण नै हुननसक्ने एफएमका टावर केबी स्टिल तथा फर्निचरबाट बनाएको भनेर फर्जी बिल पेश गरिएको उहाँको आरोप छ । साथै टावर ढुवानी गरेको भन्दै गलत भपाई समेत बनाइएको उहाँको तर्क छ । घण्टेश्वर एफएमसंगै आवद्ध केही व्यक्तिहरुले समेत फर्जि बिलभपाई बनाएको आरोप लगाएका छन् । केबी स्टिल तथा फर्निचर उद्योगका सञ्चालक केबी साउदले भने आफ्नै उद्योगबाट टावर बनाएर दिएको बताउनुभयो । पत्रकार थापाले भने कोटेशनका आधारमा केबी स्टील फर्निचर छनोटमा परेको बताउनुभयो । केबीले आफैं बनाएको वा बाहिरबाट ल्याएको हो त्यो भने थाहा नभएको थापाले बताउनुभयो ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले एफएम सञ्चालनका लागि रकम दिएको तर नबनेको भन्ने विषयमा लिखित जानकारी नआएको र आएमा छानबिन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एफएम नबनाएरै रकम भुक्तानी भयो भन्ने मौखिक जानकारी पाएको छु, लिखित आएको छैन, लिखित आउने बित्तिकै छानबिन गर्नेछौं ।’

अन्तिम अपडेट: बैशाख १०, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया