राष्ट्र बैंक भन्छ : २७ गतेसम्म गाभिनैपर्छ भन्ने छैन, जानकारी भए पनि पठाउनुहोस्

 असार २२, २०७६ आइतबार १२:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ठूला बैंक तथा वित्तीय संस्था गाभ्न पहल गरिरहेको नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगाडि मर्जरमा जान तयार रहेको जानकारी दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । केही संस्था गाभ्ने जानकारी प्राप्त भैसकेको र अरुले पनि मौद्रिक नीति आउने दिन अर्थात असार २७ गतेभित्र आफू गाभिन तयार रहेको जानकारी  दिएमा सजिलो हुने राष्ट्र बैंकले जनाएको छ । 

‘हामीले २७ गतेभित्र गाभिने संस्थाबारे जानकारी दिनुस् भनेका हौं, २७ गतेसम्म पुरै टुंगो लगाउन भनेका हैनौं’ राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उज्यालोसँग भन्नुभयो, ‘हामीले अहिलेलाई उहाँहरुको प्रतिबद्धता मात्रै खाजेका हौं, २७ गतेसम्म संस्था नै टुंगो लगाउन सम्भव छैन भन्ने त हामीलाई पनि थाहा छ नि ।’

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको र धेरैै बैंक तथा वित्तीय संस्था हुँदा सञ्चालन खर्च बढेको भन्दै गाभिन या विलय हुन दबाब दिँदै आएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिभन्दा अघि नै मर्जरको प्रारम्भिक जानकारी दिन भनिसकेको छ ।

राष्ट्र बैंकको दबाबपछि ग्लोबल आईएमई बैंक र जनता बैंकले मर्जरको निधो गरिसकेका छन् । यी दुइ बैंकबीच बैंकको नाम र सीईओको समेत सहमति भैसकेको छ । ग्लोबल आईएमई बैंक र जनता बैंक गाभिएपछि निक्षेप १ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ पुग्ने छ । यी दुई बैंक गाभिएपछि बैंकको नाम ग्लोबल आईएमई बैंक हुने र सीईयोमा पर्शुराम कुँवर हुने प्रारम्भिक सहमति भैसकेको छ ।

यस्तै प्राइम कमर्शियल बैंक र कैलाश विकास बैंकबीच पनि आपसमा गाभिने सहमति भएको छ । 

अन्य ५/७ वटा संस्था गाभिने तयारी गरिरहेको अनौपचारिक जानकारी आएको पनि राष्ट्र बैंकले जनाएको छ । ‘हामीलाई औपचारिक जानकारी आएको छैन, तर मौद्रिक नीति अगाडि नै ५/७ वटा ठूला संस्था गाभिने सहमति हुने सम्भावना देखिन्छ’ कार्यकारी निर्देशक निरौलाले भन्नुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया