एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट: नेपाल र मलेसियाबीचकाे सेमिफाइनल खेलमा वर्षाकाे सम्भावना

 असार २२, २०७६ आइतबार १६:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली यू-१९ क्रिकेट टिमले सोमबार मलेसियासँग सेमिफाइनल खेल खेल्दैछ ।  

तर मलेसियामा आइतबार बिहानदेखि भारी वर्षाका कारण टिमलाई एसीसीले दिएको समयसम्म पनि वर्षा नरोकिएपछि नेपाली टिमले जिममा नै सामान्य फिटनेश गरे ।

ब्याटिङ र बलिङ गरी दुई भागमा विभाजन गरिएको थियो । ब्याटिङ गर्ने खेलाडीलाई एक समूहमा र बलिङ गर्नेलाई अर्को समूहमा विभाजन गरेर एक-एक घण्टा जिम गराइएको थियो ।

मलेसियाको मौसमको भर नहुने भएकाले टिमले सेमिफाइनलको अघिल्लो दिन प्रशिक्षणको मौका नपाएका हुन् । नेपाली टिमले सेमिफाइनल अगाडि सामान्य फिल्डिङ गर्ने मौका नपाउँदा पनि टिमका कप्तान रोहित पौडेल भने फाइनल पुग्नेमा ढुक्क छन् । 

मलेसियाको मौसम विभागले सोमबार हुने सेमिफाइनलमा पनि वर्षा हुने देखाएको छ । यस्तो अवस्थामा टिमले सोमबारको खेलमा पिच कुन अवस्थामा रहेको छ, त्यो हेरेर के गर्ने भन्ने निर्णय गर्नेछ । पहिलो र दोस्रो खेलमा नयाँ खेलाडीलाई पनि मौका दिएको नेपालले सेमिफाइनलमा भने उत्कृष्ट ११ खेलाडीलाई मैदानमा उतार्नेछ ।

नेपालले मलेसियाविरुद्ध पछिल्लो पटक यू-१९ विश्वकप छनोटमा हराएको थियो । त्यसैले नेपाली टिम यसपटक पनि जित निकाल्नेमा ढुक्क छ । तर मलेसियालाई भने उसको होम ग्राउण्डको फाइदा हुनेछ ।

यता नेपालले पनि उमेर समूहदेखि सिनियर स्तरमा किनरारा मैदानमा धेरै प्रतियोगिता खेलेकाले मैदानको अवस्थाको बारेमा निकै जानकार छ । त्यसमा पनि प्रशिक्षक विनोद दासले यो मैदानमा खेलेर आफ्नो आधा करियर बिताएका थिए, जसबाट नेपाली टिमले फाइदा लिन सक्नेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया