नेकपा अध्यक्ष दाहालद्वारा मन्त्री बाँस्कोटाको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त

 असार २२, २०७६ आइतबार १८:५१:२० | उज्यालो सहकर्मी

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको काम, कारबाहीप्रति असन्तुष्टि जनाउनु भएको छ ।

अध्यक्ष दाहालले नेपाल टेलिकमलाई कमजोर बनाउने गरी नवीकरण दस्तुर तोक्नेलगायतको काम गरिएको भन्दै मन्त्री बाँस्कोटाप्रति असन्तुष्टि जनाउनु भएको हो । नेपाल टेलिकमका लागि रणनीतिक साझेदार खोज्ने काम भइरहेका बेला मन्त्री बाँस्कोटाले स्पष्ट नीति नबनाइ नेपाल टेलिकमलाई नै कमजोर बनाउने गरी काम गरिरहेको अध्यक्ष दाहालको बुझाइ छ ।

यस सम्बन्धमा मैले आइतबार बिहान पनि मन्त्री बाँस्कोटासँग कुरा गरेको थिए,’ अध्यक्ष दाहालले भन्नुभयाे, ‘तर नेपाल टेलिकमका कर्मचारीहरुको कुरा सुन्दा मैले फेरि मन्त्रीजीसँग छलफल गर्नुपर्ने भएको छ ।’

पार्टी निकट नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशनलाई आइतबार काठमाण्डाैमा उद्घाटन गर्दै उहाँले नेपाल टेलिकमलाई कमजोर बनाउने गरी काम भएको हुनसक्ने आशंका गर्दै त्यस विषयमा आफूले मन्त्रीसँग पुनः छलफल गर्ने बताउनु भयो ।

अध्यक्ष दाहालले नेपाल टेलिकमलाई कमजोर बनाएर रणनीतिक साझेदार खोज्ने काम गरे त्यसले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने भएकाले पनि त्यस विषयमा आफूले मन्त्री बाँस्कोटासँग गम्भिर कुरा गर्न लागेको पनि बताउनु भयो । त्यस अवसरमा उहाँले नेपाल टेलिकमका कर्मचारीहरुको वृत्ति विकासका लागि पहल गर्ने आश्वासन पनि दिनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया