पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध : कुन सडकको अवस्था कस्तो ?

 असार २७, २०७६ शुक्रबार १०:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातारको वर्षाले ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । काठमाण्डौबाट बाहिरी जिल्ला चल्ने अरु सडकमा समस्या नभए पनि बल्खु हुँदै हेटौंडा निस्कने सडकमा पहिरो खस्दा गाडी चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।

बुटवल पाल्पा सडक र भोजपुर–धरान जोड्ने सडक पनि बन्द रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले जनाएको छ । लमजुङबाट मनाङ जोड्ने सडक पनि अवरुद्ध छ ।

सिन्धुली र रामेछापको सिमानामा पर्ने खुर्कोटमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको छ । बिहान साढे ५ बजेतिर पहिरो गएपछि यात्रु सडकमै अलपत्र परेका प्रहरीले जनाएको छ । यस्तै, पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको गोलाङजो गाउँपालिका ५ खनियाखर्क र सुनकोशी गाउँपालिका १ कमेरेफाँटमा बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । पहिरो पन्छाउनका लागि विभिन्न ठाउँबाट डोजर मगाइएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण फर्पिङ– मकवानपुर सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका २ देउरालीजंगलमा बिहान ५ बजेतिर पहिरो खसेका कारण  यो सडकखण्डमा गाडी अवरुद्ध भएको हो । गाडी नचल्दा यात्रु बीच बाटोमा नै रोकिएका छन् । 

ट्रक बिग्रिएर अवरुद्ध भएको पासाङ ल्हामु राजमार्ग अझै खुलेको छैन । कालिकास्थान–धुन्चे सडकखण्ड अन्र्तगत ब्राबल भीरमा १० चक्के ट्रक बिग्रिएपछि हिजो बेलुकी ५ बजेदेखि गाडी चल्न नसकेको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो । सडक अवरुद्ध भएपछि १२ भन्दा धेरै ट्रक बाटोमै रोकिएका छन् ।

ट्रक हटाउन पहल भइरहेको र धुन्चे जाने गाडीलाई बेत्रावती तथा कालिकास्थानमा बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।  रामेछाप, खोटाङ, ओखलढुङगा हुँदै काठमाण्डौ आउने र काठमाण्डौबाट यही बाटो हुँदै सिन्धुली जाने गाडी अलपत्र परेका छन् । 

मोरङको रंगेलीमा गेउरिया खोलाले डाइभर्सन बगाउँदा त्यहाँ पनि गाडी चल्न सकेको छैन ।  । 

तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि यो सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

बिहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि फेरि अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी गाडी सञ्चालन हुने यो सडक अवरुद्ध बनेपछि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न बिहानैदेखि गाउँपालिकाले डोजर सञ्चालन गरी पहिरो हटाउन सुरु गरेको अध्यक्ष ढकालले बताउनुभयो ।

यसैबीच पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडकखण्डमा अहिले दुईतर्फी रुपमा नै गाडी चलिरहेका छन् । यो सडकखण्डको १७ किलोमा राति १० बजेतिर पहिरो खसेपछि एकतर्फी रुपमा मात्र गाडी चलेको थियो ।  बिहान साढे ८ बजेतिर पहिरो पन्छाएपछि अहिले दुईतर्फी रुपमा नै चलिरहेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया