प्रदेश ३ का योजना आयोगका उपाध्यक्ष देवकोटा द्वारा राजीनामा दिने तयारी

 असार २८, २०७६ शनिबार ९:५९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले पदबाट राजीनामा दिन लाग्नुभएको छ । 

डा.देवकोटाले राजीनामा दिन लागेकोबारे मुख्यमन्त्री डोरमणि पौडेललाई मौखिक जानकारी गराइसक्नुभएको छ । नीति तथा योजना आयोगलाई शून्यको अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याएकाले अब भने आयोगको नेतृत्व छाड्न चाहेको डा.देवकोटाले बताउनुभयो ।  

प्रदेश नीति तथा योजना आयोग गठन भएको एक वर्षको अवधिमा शून्यको अवस्थाबाट अहिलेको अवस्थासम्म ल्याउनका लागि उपाध्यक्ष देवकोटाको नेतृत्वमा धेरै काम भएका छन् ।

लिखित रुपमा राजीनामा नबुझाएको बताउँदै डाक्टर देवकोटाले भन्नुभयो, ‘निकै कठिन अवस्थाबाट नीति तथा योजान आयोगलाई अहिलेको अवस्थासम्म ल्याएँ । पहिले आयोगका सदस्यहरु पनि थोरै थियौं । अहिले सदस्यहरु पनि पर्याप्त हुनुहुन्छ । अब म नहुँदा पनि आयोगको काम राम्रोसँग चल्छ ।’

अहिले मुख्यमन्त्री पौडेल छिमेकी देश चीनको भ्रमणमा हुनुहुन्छ । उहाँ फर्कनेबित्तिकै लिखित राजीनामा बुझाउने डा.देवकोटाले जानकारी दिनुभयो । 

आयोगले एक वर्षको अवधिमा गरेको काम सार्वजनिक गर्दाको पत्रकार सम्मेलनमा नै आफूले 'अब म नहुँदा पनि आयोगको काम राम्रोसँग चल्छ' भनेर राजीनामाको संकेत दिएको देवकोटा सम्झनुहुन्छ ।  

राजीनामा दिने जानकारी गराएर उपाध्यक्ष देवकोटा बिहीबार काठमाण्डौ लाग्नुभएको छ । लामो समयदेखि केही मन्त्रीहरुसँग कुरा नमिलेपछि उपाध्यक्ष देवकोटा राजीनामा दिने मोडमा पुग्नुभएको हो । 

तर यसबारेमा भने देवकोटा र मुख्यमन्त्री पौडेल दुवै जनाले केही पनि बताउनुभएको छैन । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया