बिरुवा बेचेरै वार्षिक ३० लाख आम्दानी

 साउन १, २०७६ बुधबार १३:३३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – दिपायल सिलगढी नगरपालिका– ३ का स्थानीय तथा नेकपाका नेता गणेशदत्त भट्टले आफैँले खोलेको नर्सरीबाट वार्षिक ३० देखि ३५ लाखसम्म आम्दानी गर्नुहुन्छ । दिपायलमा रहेको ५ रोपनी खाली जमिनमा उहाँले नर्सरी निर्माण गरी बिरुवा उमार्दै आइरहनु भएको छ ।

उहाँको नर्सरीमा अहिले ६ जना कर्मचारीले रोजगारी पाइरहेका छन् । नर्सरीमा काम गर्ने कर्मचारीको तलब कटाएर वार्षिक ३० देखि ३५ लाख रुपैयाँसम्म आम्दानी हुने भट्ट बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘नर्सरीमा मेहनत पनि धेरै छ, मेहनत गरे अनुसारको आम्दानी पनि हुन्छ ।’ उहाँको नर्सरीमा रुद्राक्ष, लहरे पिपल, आँप, कागती, डालेघाँस, चिउरी, अम्रिसो, किम्बु, टिमुरलगायतका बिरुवाहरु छन् । 

आजभोलि उहाँको नर्सरीमा बिरुवा लिन आउनेहरुको घुँइचो लाग्न थालेको छ । नर्सरीमा उत्पादन भएका बिरुवा लिनका लागि छिमेकी जिल्ला कैलाली, अछाम, बाजुरा, डडेल्धुराका स्थानीयहरु आउने गरेको भट्ट बताउनुहुन्छ ।

जिल्लामा नै यसरी बिरुवा उत्पादन गर्ने नर्सरी एउटामात्रै छ । पहिलो नर्सरी भएकै कारण व्यवसाय सफल भएको भट्टको दाबी छ । सस्तो दरमा जिल्लामा नै फलफूलका बिरुवा लिन पाउँदा स्थानीय पनि खुशी बनेका छन् ।

स्थानीय कैलाश खत्रीले भन्नुभयो, ‘जिल्लामा पहिले कसैको पनि नर्सरी थिएन, हामी बिरुवा लिन अन्यत्र जिल्ला जान्थ्यौँ अहिले दिपायलमा भट्ट नर्सर खुलेपछि हामीलाई घरमै बिरुवा मिल्न थालेको छ ।’

भट्टले अर्को वर्षका लागि चाहिने बिरुवा यो वर्ष नै तयार गर्ने गर्नु भएको छ । अर्को वर्षका लागि उहाँले करिब १४ लाख रुपैयाँको लगानीमा नयाँ बिरुवाको बिउ राख्नु भएको छ । तीन वर्षमा उहाँले करिब एक करोड आम्दानी गरिसक्नुभएको छ । उहाँले भन्नुभयो ‘बिउ राखेर उम्रिएका सबै बोट बच्दैनन्, आधा जति मरेर जाने भएकाले आम्दानी केही घट्छ, उम्रिएका सबै बिरुवा बचे त अझ धेरै आम्दानी हुने थियो ।’

जिल्लामा नपाइने तथा माग अनुसारका बिरुवाहरु उहाँको नर्सरीले जिल्ला बाहिरबाट मगाएर पनि जिल्लामा आपूर्ति गर्ने गरेको छ । आफूले गरेको मेहनेत गरे अनुसारको आम्दानी हुन थालेपछि उहाँ आफ्नो पेशा प्रति निकै खुशी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पैसा कमाउन विदेश जानु पर्दैन, मेहनत गरे घरैमा पैसा कमाउन सकिन्छ ।’

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया