सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा बेस्टिज अवार्डबाट सम्मानित

 साउन २, २०७६ बिहिबार १८:३९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालका वरिष्ठ सरोदवादक तथा गायक उस्ताद यसराज सुदर्शन राजोपाध्यायलाई भारतको राजस्थानमा सम्मान गरिएको छ ।

आइतबार राजस्थानकाे जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा कलाकार राजोपाध्यायलाई इन्टरनेशनल इन्डियन बेस्टिज अवार्ड-२०१९ प्रदान गरियाे ।

आर बी फाउन्डेशन र भव्या इन्टरनेशनलको आयोजना तथा कलमकार मञ्चको संयोजनमा भएको मैत्री सम्मेलनमा राजोपाध्यायलाई मुम्बईका समाजसेवी एवं व्यवसायी सुरेश अग्रवालले बेस्टिज अवार्ड प्रदानगर्नु भएको हो । आसामका सामाजिक अभियन्ता शंकरलाल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा सुरेश ज्ञान विहार विश्वविद्यालयका अध्यक्ष सुनीलशर्मा, कलमकार मञ्चका संस्थापक शैलेन्द्र माथुर, मञ्चका निर्देशक डा निशा माथुरलगायतको सहभागिता थियो ।

नेपालसहित भारत, मालदिभ्स, क्यानडालगायतका देशबाट पनि सहभागिता रहेको मैत्री सम्मेलनमा राजोपाध्यायको विशेष सरोद वादन प्रस्तुत गरिएको थियो  ।

३ दशक अघिदेखि संगीत साधनामा लागेका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट संगीतमंजरी उपाधि प्रदान गरिएको थियो भने सन् २०१५ मा गुजरातमा  सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।

नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनुभएको छ ।

सरोदवादनबाहेक  उहाँका नेपालीमा पलपल, पानीसरी , त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगीततर्फ वनडे रागाज, सोलफूल म्यूजिक फर मेडिटेशन, भारतबाट सुरिल म्यूजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया