वर्षाका कारण सौराहा घुम्न आउने पर्यटक घटे

 साउन १०, २०७६ शुक्रबार १०:४७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनको पर्यटकीय क्षेत्र सौराहामा वर्षा पछि पर्यटक घटेका छन् । गएका वर्षहरुको तुलनामा वर्षाको समयमा यो वर्ष पर्यटक घटेको पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटक नहुँदा राप्ती नदी किनारमा रहेका रेष्टुरेन्टहरु सुनसान भएका छन् । 

वर्षाको समय भएको, अन्य क्षेत्रमा पनि पर्यटकीय गन्तव्य विस्तार भएको कारण पर्यटक आगमन कम भएको हो ।  असार महिनाको सुरुवातदेखि घट्दै गएको पर्यटकको संख्या साउन महिनाको पहिलो सातासम्ममा अत्यन्त कम भएको व्यवसायीहरु बताउँछन् । 

सबैभन्दा बढी समूहमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक घटेका छन् । क्षत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले होटलमा १० प्रतिशत मात्र पर्यटक आउने गरेको बताउनुभयो । वर्षाका कारण जंगल र डुङ्गा सफारी सहज नहुने भएकाले पर्यटक घटेको उहाँले बताउनुभयो ।

गत वर्ष वर्षाको समयमा दैनिक १५० पर्यटक गाडीमा आउनेगरेको तथ्यांक भए पनि यो वर्ष दैनिक १ सय पर्यटक पुग्न मुस्किल भएको व्यवसयायीहरु बताउँछन् । ‘आउनै पर्नेहरु आएका छन् , घुमेर मनोरञ्जन लिनेगरी आउने पर्यटक घटेका छन् । चितवन राष्ट्रिय निकुञ्जले असार २१ गतेदेखि जङ्गल सफारी बन्द गरेको छ ।  

विसं २०७२ साल अघिसम्म यो मौसममा होटल र रेष्टुरेन्टले मजदुरलाई छुट्टी दिने गरेका थिए । त्यसपछिका वर्षमा बिदा नदीएको भए पनि यो वर्ष केही होटलले पर्यटक निकै कम भएपछि मजदूरलाई सहमतिमा बिदा दिइरहेको रेष्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताउनुभयो । 

सौराहामा ५६ वटा रेष्टुरेण्ट रहेक छन् । राप्ती नदीको किनारमा रहेको ८ वटा रेष्टुरेण्ट बाढी बढेका कारणले अहिले समाग्री हटाएर बसेका छन् । दुई वर्षअघि वर्षाले सौराहाका अधिकांश होटल डुबानमा परेपछि पर्यटकको उद्धार गर्नुपरेको थियो । 

सौराहामा १ सय १० वटा पर्यटकीय होटल रहेका छन् । यी होटलहरुमा २ हजार ७ सय ५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ । सौराहामा ५६ ओटा रेष्टुरेन्ट पनि रहेका छन्  ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया