जमिन अभावका कारण तीन सय विद्यालयको पुनर्निर्माण सुरु हुन सकेन

 साउन ११, २०७६ शनिबार ८:२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जमिन अभावका कारण भूकम्प प्रभावित ३२ जिल्लामा तीन सय विद्यालयको पुनर्निर्माण हुन सकेको छैन ।

काठमाण्डौसहित ३२ जिल्लाका तीन सय विद्यालयको काम रोकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाले जनाएको छ ।

काठमाण्डौ उपत्यकाभित्र मात्रै ६१ विद्यालयको पुननिर्माण सुरु भएको छैन । भक्तपुरमा २६, काठमाण्डौमा २५ र ललितपुरमा १० ओटा विद्यालयमा पुनर्निर्माणको काम बाँकी छ । विद्यालय पुनर्निर्माण गर्न सरकारले जग्गा उपलब्ध गराउने प्रावधान नभएको कार्यान्वयन इकाइ शिक्षाका प्रमुख इमनारायण श्रेष्ठले बताउनुभएको छ । तर कतिपय विद्यालयले आफ्नै जमिन भएपनि लालपूर्जा नभएका कारण समस्या भएको गुनासो गर्दै आएका छन् ।

भूकम्प प्रभावित जिल्लाका ५ सय विद्यालय यो वर्ष पुनर्निर्माण गरिने र जग्गाको समस्या भएका विद्यालय बनाउन सम्बन्धित पालीका, समुदाय र विद्यालयसँग आवश्यक छलफल भैरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभएको छ ।

अहिलेसम्म ४ हजार ७ सय विद्यालयको पुनर्निर्माणको काम सकिएको छ । २ हजार विद्यालय पुनर्निर्माणको काम जारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पपछि ७ हजार ५ सय ५३ विद्यालय भवन क्षति भएका थिए । ती भवनसहित ४९ हजार ६ सय ८१ कक्षाकोठामा क्षति पुगेको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया