मोटरसाइकल चोर्ने बसधनी पक्राउ

 असार २५, २०७५ सोमबार १९:३६:५ | उज्यालो सहकर्मी

डोटी – मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१, बस्ने २५ वर्षीय साजन रिजाल रहेका छन् । 

डोटीका डम्मर डौडीको से २ प ९६६१ नम्बरको १५० सीसीको पल्सर मोटर साइकल चोरी गरी पाटपुर्जा निकालेको आरोपमा प्रहरीले उनलाईसोमबार पक्राउ गरेको हो । पक्राउ परेका रिजाल सुदूरपश्चिम यातायातको ना ४ ख ८१३९ नम्बरको बसका मालिक समेत रहेको र उनले आफनो बसका सहचालक गोदावरी नगरपालिका –४, अत्तरिया बस्ने २४ वर्षीय लोकेशबहादुर शाहलाई समेत प्रयोग गरेको पुष्टि भएको छ ।

चोरीमा प्रयोग गरिएको भन्दै डोटी प्रहरीले उनको बसलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका –६, मा होटल व्यवसाय सञ्चालन गर्दै आएका डौडीले केही दिन पहिले सिलगढीमा रहेको आफन्तको घरमा मोटरसाइकल राखेको र मोटरसाइकल हराएपछि खोजी गर्दै जाँदा चोरी भएको मोटरसाइकल २ किलोमिटर टाढा पाटपुर्जा खोलिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो । 

डीएसपी धामीले भन्नुभयो, ‘मोटरसाइकल चोरी भएको निवेदन आयो, हामीले अनुसन्धान गर्दा रिजालले चोरेको पत्ता लगायौँ र मोटरसाइकल फेला पा¥यौँ ।’ मोटरसाइकल चोरी गर्ने गाडी धनी रिजाल र सहचालक शाहलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया