बलिउड सेलिब्रेटीहरुकाे मित्रता: कहिले आगाे, कहिले पानी

 साउन १९, २०७६ आइतबार १९:३६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सामान्य व्यक्तिहरु जस्तै बलिउडका स्टार कलाकारहरुका पनि मिल्ने साथीहरु छन् । उनीहरुको त्यो मित्रता वर्षाैँदेखि कायम छ । 

त्यही पुरानो मित्रतामा उनीहरु अरुले जस्तै कहिले झगडा गर्छन् र फेरि मिल्छन् पनि । आज हामी बलिउडका तिनै कलाकारहरुको मित्रताको बारेमा चर्चा गर्दैछौँ । 

करण जोहर र काजोल

करण जोहर र काजोलको मित्रता र झगडाका बारेमा सबैलाई थाहा छ । तर आज पनि उनीहरु बीचको मित्रता निकै गहिरो छ । काजोल र करणको मित्रता चलचित्र ‘कभी खुशी कभी गम’ बाट सुरु भएको थियो । यी दुईबीचको मित्रता यति गहिरो थियो कि उनीहरु स–साना सुख र दुःखका पलमा पनि साथमै देखिन्थे । 

करण जोहरको कैंयौ चलचित्रमा काजोल मुख्य अभिनेत्रीको रुपमा हुन्थिन् । यदि त्यो नभए कुनै न कुनै रुपमा उनी करणको चलचित्रमा देखिन्थिन् । तर एक समय यस्तो क्षण आयो जहाँ यी दुवैको मित्रतामा फाटो आयो । कारण थियो करण जोहरको चलचित्रहरु ‘ए दिल हे मुस्किल’, र काजोलका पति अजय देवगनको चलचित्र ‘शिवाय’ एकसाथ प्रदर्शन हुनु । 

यी दुवै आफ्नो चलचित्रको मिति परिवर्तन गर्न सहमत भएनन् । र काजोलले करणसँगको वर्षौ पुरानो मित्रता बिर्सिएर पति अजयलाई साथ दिँदै करण जोहरसँग बोलचाल नै बन्द गरिदिएकी थिइन् । 

दुवैका चलचित्र एकै समयमा प्रदर्शन भए, जसका कारण अजयको चलचित्रलाई निकै असर पुग्यो । त्यसपछि काजोल र करणबीतको मित्रता झन् बिग्रिएर गयो । यति सम्म बिग्रियो कि त्यसलगत्तै करण जोहरले प्रकाशित गरेको आफ्नो आत्मवृतान्तमा काजोलसँगको मित्रताको विषय कहीँकतै पनि उल्लेख गरेनन् । 

भनिन्छ, समयले बिस्तारै पुरानो घाउ भरिदिन्छ । दुवैलाई एकपटक फेरि आफ्नो साथीको याद आयो । करण जोहरले काजोलको नाम आफ्नो आत्मवृतान्तमा उल्लेख नगरेकोमा टेलिभिजन शो मार्फत माफी मागे । अहिले फेरि यी दुवै जना असल साथी छन् । 

अजय देवगन र रोहित शेट्टी

अजय देवगन र रोहित शेट्टी बाल्यकालदेखि नै साथी हुन् । यसै कारण रोहित शेट्टीको धेरै जसो चलचित्रहरुमा अजय देवगन मुख्य भूमिकामा देखिन्छन् । 

तर केही समयअघि रोहित शेट्टीले शाहरुख खानलाई उनको चलचित्र ‘दिलवाले’ मा अभिनय गराए । यही कारण अजय र रोहितको मित्रतामा फाटो आयो । चलचित्र फ्लप भएपछि रोहितले आज म जहाँ छु, अजयकै कारण छु, भनेका थिए । 

रोहितले भने, ‘अजयले त्यो बेला मेरो साथ दिएका थिए, जुनबेला मेरा चलचित्र चलिरहेका थिएनन् । अजयले ममाथि विश्वास र भरोसा गरेका थिए । मेरा फ्लप चलचित्रपछि पनि उनले मसँग काम गरे ।’ रोहितको त्यो बयानपछि अजयले पनि शत्रुता भुल्दै रोहितलाई साथ दिए । आज यी दुवै असल साथीको रुपमा छन् । 

फराह खान र शाहरुख खान

फराह खान र शाहरुख खानको मित्रता बलिउडका असल साथीहरुको जोडीमध्येको एक हो । यी दुवै एकअर्काको चलचित्रमा हुन्छन् । 

तर केही वर्षअघि यी दुवैको मित्रतामा फाटो आएको थियो । फराह खानका पति शिरीष कुन्दर शाहरुखलाई आफ्नो चलचित्रमा लिन चाहन्थे तर शाहरुखले मानेनन् । फराहले आफ्ना पति शिरीषको साथ दिँदै शाहरुखसँग टाढिइन् । झण्डै ५ वर्षसम्म शाहरुख र फराहबीच शीतयुद्ध चल्यो । 

तर अहिले यी दुवैको सम्बन्ध सामान्य भैसकेको छ । फराह छिट्टै नै चलचित्र ‘सत्ते पे सत्ता’ को रिमेक बनाउने तयारीमा छिन्, जुन चलचित्रमा शाहरुखको मुख्य भूमिका रहने चर्चा छ । 

सलमान खान र सञ्जय दत्त

सलमान खान र सञ्जय दत्तबीत पनि गहिरो मित्रता रहेको छ । केही वर्षअघि जब सञ्जय दत्त टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सँचालन गर्थे तब अचानक सञ्जयलाई हटाउँदै सलमान खानलाई होस्ट बनाइयो । 

त्यस समयमा शो निर्माताहरुको त्यस निर्णयले सञ्जय र सलमानको मित्रतामा असर परेको खबरहरु सार्वजनिक भए । सञ्जय र सलमानबीच बोलचाल नै बन्द भइको बताइएको थियो । 

तर पछि यी दुईको सम्बन्ध सामान्य बन्दै गयो । सञ्जय दत्त जेलमा हुँदा सलमान उनलाई भेट्न पुगेका थिए । त्यसैले सञ्जय पटक पटक भनिरहेका हुन्छन् कि सलमान असल साथी हुन् र सदैव रहने छन् । 

अनुष्का शर्मा र कट्रिना केफ

अनुष्का शर्मा र कट्रिना केफबीत पनि गहिरो मित्रता रहेको छ । यी दुवैले शाहरुख खानसँग चलचित्र ‘जब तक हे जान र ‘जिरो मा काम गरे । 

दर्शकले पनि यी दुईलाई कैंयौ टक शो हरुमा एक साथ देखिसकेका छन्, जहाँ यी दुवै एक अर्काको तारिफ गरेर थाक्दैनन् । तर बिचमा यी दुईबीच सानो कुराले मनमुटाव भयो । त्यसको केही समय दुबै जना एकअर्कादेखि टाढिएका थिए । 

खासमा कट्रिनाको मेकअप म्यानले कट्रिनालाई छोडेर अनुष्काका साथ काम गर्न सुरु गरेका थिए । यही कारण कट्रिना अनुष्कादेखि रिसाएकी थिइन् । तर पछि चलचित्र ‘जिरो’ मा काम गर्दैगर्दा मनमुटाव पनि सकिएको थियो । 

अर्जुन कपूर र रणविर सिंह

अर्जुन कपूर र रणविर सिंह चलचित्रमा आउनुअघि देखि नै असल साथी हुन् । तर चलचित्र ‘गुण्डे’ मा एकसाथ काम गर्ने क्रममा यी दुईबीच घमण्ड बढ्यो । 

त्यसपछि यी दुवै एकअर्काको उपस्थितिमा निकै असहज महसुस गर्थे । तर पछि यी दुवैले आफु खटपट अन्त्य गर्दै फेरि साथी बने । 

अहिले यी दुई जनालाई धेरैजसो अवार्ड शो, च्याट शो, र सामाजिक सँजालमा एकअर्कासँग हाँसो र मजाक गरिरहेको देख्न सकिन्छ । 

सलमान खान र शाहरुख खान

बलिउडका कलाकारहरु बीचको मित्रताको कुरा गर्दा सलमान खान र शाहरुख खानको चर्चा नगर्दा अधुरो नै हुन्छ । 

तर केही समयसम्म यी दुईबीचको दुस्मनी पनि कसैले बिर्सिएका छैनन् । जसको कारण थिइन्, अभिनेत्री ऐ्श्वर्या राय बच्चन । त्यो समयमा सलमान र ऐश्वर्याको ब्रेकअप भएको थियो र उनी शाहरुखसँग चलचित्रको छायाँकनमा थिइन । सलमानले छायाँकनस्थलमै गएर झगडा गरे र त्यही बेलादेखि सलमान र शाहरुखबीच खटपट सुरु भयो । 

त्यसको केही समयपछि पनि यी दुई नजिक भएका थिए तर सन् २००८ मा कट्रिना कैफको जन्मदिनको पार्टीमा यी दुईबीच झगडा भयो । सञ्चारमाध्यमका अनुसार यी दुईबीच हात हालाहालको अवस्था नै भएको थियो । कति वर्षसम्म त यिनीहरुबीच बोलचाल नै बन्द भएको थियो । 

तर सन् २०१४ मा बाबा सिद्दिकीको एक पार्टीमा विगतका गल्तीहरु बिर्सिएर दुवैले एकअर्कालाई अँगालो हाल्दै फेरि मित्रता गाँसे । अहिले शाहरुख र सलमान असल मित्र बनेका छन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया