प्राधिकरणले चालु आर्थिक वर्षलाई पुनर्निर्माण वर्ष बनाउने

यस्तो छ आवास पुनर्निर्माणको जिल्लागत अवस्था

 साउन १९, २०७६ आइतबार १९:३७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षलाई पुनर्निर्माणको वर्ष बनाउने भएको छ ।

गएको आर्थिक वर्ष २०७५-७६ को प्रगति समीक्षासहित प्राधिकरणले यो आर्थिक वर्षभित्र व्यक्तिका घर निर्माणको काम सक्नेगरी लक्ष्य निर्धारण गरेको छ । अहिलेसम्म निजी आवासमा ८३ प्रतिशत प्रगति भएको प्राधिकरणको दावी छ । भूकम्प प्रभावित जिल्लामा बनेका र बन्दै गरेका घरको संख्या ६ लाख ४४ हजार पुगेको छ ।

काठमाण्डौमा आइतबार भएको समीक्षा कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गुनासा, जोखिम र बस्ती स्थानान्तरण बाहेक व्यक्तिका घर पुनर्निर्माणको काम यही आर्थिक वर्षमै सक्ने बताउनुभएको छ । 

४ लाख २४ हजार घर बने

भूकम्प र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९ सय ७७ लाभग्राहीले सरकारको अनुदान लिई घर निर्माण गरेका छन् । थप २ लाख १४ हजार ३ सय १४ लाभग्राहीका घर बनिरहेको अवस्थामा छन् । बनिसकेका र बन्दै गरेका सहित घरको संख्या ६ लाख ४४ हजार २ सय ९१ छ, जुन ८३ प्रतिशत हो ।

७ लाख ७३ हजार अनुदान सम्झौता 

अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४ सय ४७ छ । प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २ सय २१ ले पहिलो किस्ता बुझेका छन् । ५ लाख ९९ हजार ४ सय ३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार १ सय १९ छ ।

जिल्लागत अवस्था

पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८ सय ३४ घर पुनर्निर्माण भएका छन् । त्यसैगरी दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६ सय १३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४ सय ५४, दोलखामा ४४ हजार ५ सय ३३ र गोरखामा ४४ हजार २ सय ३१ घर छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माणको गति बढेको बताउनु भएको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५ सय २५ घर पुनर्निर्माण भएका छन् ।

सिन्धुपाल्चोक – ६७, ८३४
नुवाकोट – ५२,६१३
धादिङ – ४८,४५४
दोलखा – ४४,५३३
गोरखा – ४४,२३१
काभ्रेपलाञ्चोक – ३०,८७७
रामेछाप – ३०,७११
ओखलढुङ्गा – १५,७७२
मकवानपुर – १३,०७०
सिन्धुली – १२,५८२
काठमाडौं – ११,५४२
रसुवा – १०,४१८
तनहुँ – १०,५२५
भक्तपुर – ८,४२०
ललितपुर – ४,२१६
लमजुङ – ३२००
चितवन – २,९८२
खोटाङ – २,९२८
सोलुखुम्बु – २,३०२
पाल्पा – १,४३५
भोजपुर – १,२६८
धनकुटा – १,२०३
बागलुङ – ८,८२
स्याङ्जा – ७०७
पर्वत – ६७६
नवलपरासी – ६२०
गुल्मी – ३२७
कास्की – ३२४
म्याग्दी – २७१
अर्घाखाँची – ५४

सम्झौता नगर्नेको नाम हट्दै

निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन् । लाभग्राहीमा सूचीकृत भए पनि झण्डै ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया