बाबुराम भट्टराई बस्ने उपयुक्त ठाउँ देखाइदिन सभामुखलाई सांसद खतिवडाको आग्रह

 साउन २१, २०७६ मंगलबार १८:१२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित डा.बाबुराम भट्टराई संसद बैठकमा अहिले पनि स्वतन्त्र सांसद बस्ने स्थानमा नै बस्ने गर्नुभएको छ ।

वैशाख २३ गते सत्तारुढ संघीय समाजवादी फोरमसँग एकता भएपछि पनि उहाँ स्वतन्त्र सांसद सरह नै बैठकमा सहभागिता जनाइरहनुभएको छ ।

दुवै पार्टी एकता भएर अहिले समाजवादी पार्टी बनेको छ । पार्टी अहिले सरकारमा छ । पार्टीको केन्द्रीय समिति संयोजक उपेन्द्र यादव स्वास्थ्य तथा जनसख्या मन्त्री हुनुहुन्छ ।

पार्टीका अन्य सांसदहरु सत्तापक्षको सिटमा बस्छन् । तर पार्टी सत्तामै रहँदा पनि डा.भट्टराई स्वतन्त्र सांसदको हैसियतमा बैठकमा बस्न नछाड्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद विरोध खतिवडाले डा.भट्टराई बस्ने स्थानका बारेमा प्रश्न उठाउन पर्यो ।

मंगलबारको संसद बैठकमा सांसद खतिवडाले डा.भट्टराई अहिले जहाँ बसिरहनुभएको छ, त्यो नै सही हो या संसदले बस्ने व्यवस्थापन नमिलाएको हो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, सांसद खतिवडाले ‘पूर्वप्रधानमन्त्री माननीय डा. बाबुराम भट्टराईजी अहिले जहाँ बसिरहनुभएको छ, त्यो नै सही हो या संसदले व्यवस्थापन ठिक नगरेको हो ?’

साथै सांसद खतिवडाले दुवै पार्टीले एकता प्रक्रिया सकेको भने पनि सत्तारुढ बन्न इन्कार गरेको हो कि भन्दै डा.भट्टराईलाई पनि प्रश्न गर्नुभयो । ‘उहाँले एकता प्रक्रियालाई सही गरेर इन्कार गरेको हो कि’, सांसद खतिवडाले भन्नुभयो,  ‘त्यसकारण पूर्व प्रधानमन्त्रीज्यूलाई बस्ने उपयुक्त ठाउँको व्यवस्था गर्दै बस्ने ठाउँ देखाइदिनुहुन पनि अनुरोध गर्दछु ।’

सत्तारुढ नेकपाका सांसद खतिवडाले आफ्नो स्थानबारे प्रश्न उठाउँदै गर्दा स्वतन्त्र सांसदको हैसियतमा बैठकमा सहभागी डा. भट्टराई भने मुसुमुसु हाँसिरहनुभएको थियो ।

बैठकमा सांसदले डा.भट्टराईको बस्ने स्थानको बारेमा प्रश्न उठाएपछि सभा सञ्चालन गरिरहनुभएकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टी एकीकरण भएको भन्ने निर्वाचन आयोगबाट आउनु पर्ने जानकारीसहितको पत्र नआएकाले डा.भट्टराई पुरानै स्थानमा बसिरहेको स्पष्ट पार्नुभयो ।

औपचारिक पत्र आएपछि भने उपयुक्त स्थानको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया