लमही–कोइलाबास सडकमा मुआब्जाको किचलो, स्थानीय आन्दोलित

 साउन २३, २०७६ बिहिबार १४:५१:१७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – भारतीय नाका दाङको कोइलाबास जोड्ने निर्माणाधीन लमही–कोइलाबास सडकखण्डमा मुआब्जाको किचलो सुरु भएको छ ।

मुआब्जा रकम थोरै भएको भन्दै लमही नगरपालिका वडा नम्बर–४, सेम्रहवाका नागरिकले आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडक २ घण्टा अवरुद्ध पारेका छन् । कालो झण्डा, कालो ब्यानर टाँगेर आन्दोलन गरेका सेम्रहवा गाउँका नागरिकले बाटो अवरुद्ध गरेर आन्दोलन गर्दै आएका छन् ।

जग्गाको मूल्यांकन चलनचल्तीको मूल्यभन्दा निकै कम भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

प्रतिवर्गमिटर ५० रुपैयाँ मुआब्जा तोकिएको छ । छिमेकी गाउँ बलरामपुरको मुआब्जा प्रतिवर्गमिटर १५ सय हँुदा सेम्रहवा गाउँको जग्गाको मूल्य जम्मा ५० रुपैयाँ वर्गमिटर तोकिएको छ । यो रकम बढाउन माग राख्दै आन्दोलन थालिएको हो ।

३२ करोड रुपैयाँ मुआब्जा बाँडियो

लमही–कोइलाबास सडक क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न जिल्लामा प्राप्त भएको ३५ करोड बजेट मध्येबाट अहिलेसम्म ३२ करोड ११ लाख ४४ हजार एक सय ७८ रुपैयाँ मुआब्जा वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा रकम वितरण भैरहेको छ । अब २ करोड ९७ लाख २९ हजार ४४ रुपैयाँ वितरण गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनु भएको छ ।

अहिलेसम्म ३ सय ८७ कित्ताको मुआब्जा वितरण गरिसकिएको छ । ३२ ओटा कित्ताको जग्गा धनीमध्ये १० जना सम्पर्कमा आएको र बाँकी २२ कित्ताको जग्गाधनी सम्पर्कमा आउन नसकेका जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

नेकपा र कांग्रेसको समर्थन

मुआब्जा रकम थोरै भएको विषयमा सेम्रहवा गाउँका नागरिकले थालेको आन्दोलनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले समर्थन जनाएका छन् । सडकमा दुवै दलका नेतृत्व देखिएका छन् ।

नेकपा लमही नगर कमिटीका सचिव बसन्त शर्मा, लमही नगर सह–इञ्चार्ज नारायण डिसी छम्पाली, जिल्ला सदस्य बिरबहादुर केसी, धुपनारायण चौधरी, ओमप्रकाश सुवेदी(सागर), नेपाली कांग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डे, महाधिवेशन प्रतिनिधि कर्णबहादुर बुढाथोकी, मधु न्यौपानेलगायतका नेतृत्व सडकमा पुगेका थिए । 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया