संखुवासभामा दूषित पानीका कारण बिरामी परेकाहरुकाे घरमै पुगेर उपचार

 साउन २३, २०७६ बिहिबार १६:३३:१८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - पाँचखपन नगरपालिका–४, होक्सेमा दूषित पानी पिउँदा बिरामी परेकाहरुकाे बिहीबारदेखि उपचार शुरु भएको छ ।

स्वास्थ्यकर्मीका टोलीहरुले घर–घरमा नै पुगेर स्वास्थ्य उपचार गरिरहेको पाँचखपन–४ का वडाध्यक्ष काजीबहादुर तामाङले बताउनुभयो । गाउँमा माहामारीकै रुपमा झाडापखाला फैलिएपछि उपचारका लागि पाँचखपन नगरपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली खटिएका छन् ।

अहिले नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र लिङलिङ स्वास्थ्य चौकीबाट आएका स्वास्थ्यकर्मीहरले घर–घरमा उपचार सुरु गरेको वडाध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार गाउँमा झाडापखाला फैलिएको खबर प्राप्त हुनसाथ स्वास्थ्यकर्मीहरुलाई खबर गरेर घर–घरमा उपचार सेवा दिइरहेको बताउनुभयो ।

‘बिहीबार बिहानैदेखि पाँचखपन नगरपालिका स्वास्थ्य संयोजक राजकुमार यादवको संयोजकत्वमा वाना प्राथमिक स्वास्थ्य केन्द्रबाट १ जना अहेव, लिङलिङ स्वास्थ्य चौकीबाट १ जना अहेव र शहरी स्वास्थ्य इकाईबाट १ जना अनमीको टोलीले बिरामीको उपचार गरिरहेका छौँ ’, वडाध्यक्ष तामाङले भन्नुभयो ।

गएको आइतबार देखि वडा नं. ४ को होक्से माझगाउँ टोलका दुई दर्जनभन्दाब बढी स्थानीय दूषित पानीका कारण झाडापखाला लागेर बिरामी परेका हुन् । सुरु–सुरुमा एक-दुई जना गर्दै बिरामी परेकाे र केही दिनदेखि गाउँभरिका सबैजसाे बिरामी पर्न थालेका हुन् । बिरामी पर्नेमा ९ जना पुरुष र १६ जना महिला रहेका छन् भने ३ जना बालबालिका रहेको स्थानीय बिरामी भेषराज बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार ६ घरपरिवारका २५ जनाले एउटै मुहानको पानी  प्रयोग गर्ने र पानी दूषित भएकाले बिरामी परेका हुन् । ‘गाउँ नजिकैको कुवामा केही दिनअघि भलबाढी पसेको र त्यसै कुवाको पानी पिउँदा सबै गाउँलेहरु बिरामी भएका बस्नेतले बताउनुभयाे ।

खानेपानीको चरम अभाव रहेकाे हाेक्सेमा त्यही कुवाबाहेक गाउँ नजिकमा अर्को खानेपानीको कुनै स्राेत नभएकाले सबै गाउँलेहरुले यहीँकाे पानी प्रयोग गर्छन् ।खानेपानी अभावकै कारणले होक्सेका १० घर विस्थापित भइसकेका छन् ।      

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरुबाट उपचार भइरहेकाले झाडापखाला नियन्त्रणमा रहेको जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीका सुचना अधिकारी रोशन श्रेष्ठले बताउनुभयो । यदि औषधी र स्वास्थ्यकर्मीको अभाव परेमा थप स्वास्थ्यकर्मी पठाउन जिल्ला अस्पताल तयारी अवस्थामा रहेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । 

सिकिस्त बिरामी परेका भेषराज बस्नेत र उनकी नातिनी रोशिताको जिल्ला अस्पताल खाँदबारीमा थप उपचारपछि घर फर्किसकेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । पाँचपखन नगरपालिकाको अन्य वडा र गाउँहरुमा भने झाडापखालाको प्रकोप फैलिएको छैन । 

 

अन्तिम अपडेट: चैत २९, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया