किशोरी बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ

 साउन २३, २०७६ बिहिबार १८:५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगा – घाँस काट्न गएको समयमा सँगै गएर एक किशोरी बलात्कार गरेको आरोपमा अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई साउन २१ गते बलात्कार गरेको अभिभावकको उजुरीपछि यादव पक्राउ परेका हुन् । 

जबरजस्ती करणी गरिरहेका बेला किशोरीका बुवाले फेला पारेपछि घटना बाहिर आएको स्थानीयले बताए । यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि फकाएर यौन सम्पर्क राखेको पीडित पक्षको भनाइ छ । पीडित किशोरीको जिल्ला अस्पताल रुम्जाटारमा स्वास्थ्य परीक्षण गरिएको छ ।

यादवले विवाह गरेर काठमाण्डौ लगेर राख्ने र घटनाका विषयमा कसैलाई भने जे पनि गर्न सक्ने भनि धम्की दिएको पीडित किशोरीले बताइन् । महिला अधिकारकर्मीहरुको सहयोगमा उजुरी दर्ता गरिएको हो ।

आरोपित यादवलाई गिरफ्तार गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले बताउनुभयो । जिल्ला अदालत ओखलढुंगाबाट म्याद थप गरी अनुसन्धान थालिएको उहाँको भनाइ छ ।

अनुसन्धानबाट सहमतिमै यौन सम्पर्क राखेको र अभिभावकले देखेपछि उजुरी आएको मल्लले डीएसपी दाबी गर्नुभयो । पीडितका आफन्तले भने प्रहरीले लेनदेनमा मुद्दा मिलाउन दबाब दिएको गुनासो गरेका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया