नेकपाले सरकारी जग्गा रहेको कार्यालय माफी माग्दै तत्काल हटाउनुपर्छ : नेपाली कांग्रेस

 साउन २३, २०७६ बिहिबार १८:२८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारी जग्गा भोगचलनसम्बन्धी नियमविपरीत धुम्बाराहीमा रहेको पार्टीको केन्द्रीय कार्यालय तत्काल हटाउन सत्तारुढ नेकपालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सत्तारुढ केन्द्रीय कार्यालय जग्गाको भोगचलनसम्बन्धी नियमविपरीत रहेकोमा आपत्ति जनाउँदै तत्काल धुम्बाराहीबाट हटाउन नेकपालाई आग्रह गर्नु भएको हो ।

नीति, नियम र नैतिकताको पाठ पढाउने राजनीतिक दलको केन्द्रीय कार्यालय नियमविपरीत भएको ठाउँबाट सञ्चालन भैरहेकोमा आफ्नो पार्टीलाई लज्जित र दुःखित बनाएको पनि प्रवक्ता शर्माको भनाइ छ । प्रवक्ता शर्माले नेकपाले कार्यालय त्यहाँ सञ्चालन गरेर गम्भीर गल्ती गरेको दाबी गर्दै क्षमयाचना गर्नुपर्ने तर्क पनि गर्नुभयो ।

त्यस्तै प्रवक्ता शर्माले नेकपाले पार्टीको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले नेकपाले छपाइका लागि पठाएको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणमा दृष्टिदोष मात्रै रहेको उल्लेख गर्दै आपत्ति जनाउनु भएको हो ।

लोकतन्त्रका लागिसँगै लडेको राजनीतिक दलले आफ्नो दलप्रति त्यसरी दृष्टिकोणको नाममा दृष्टिदोष राखेको देखेर आफूलाई दया लागेको प्रवक्ता शर्माको प्रारम्भिक टिप्पणी छ ।

त्यस्तै नेपाली कांग्रेसले आधिकारिक ट्रेड युनियनबाहेक अरु ट्रेड युनियनको अस्तित्व नै मासिने गरी कानुन बन्न लागेको भन्दै विरोध गरेको छ । 

‘निजामती सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयकमा आधिकारिक ट्रेड यूनियन बाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले आफ्ना हकहितका लागि माग समेत प्रस्तुत गर्न नपाउने व्यवस्था भएको र यो व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरित रहेको कांग्रेसको ठहर छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया