क्यान्सर पीडितलाई उपराष्ट्रपतिद्वारा एक महिनाको तलब सहयोग

 साउन २३, २०७६ बिहिबार १८:३५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब क्यान्सर पीडितका लागि सहयोग गर्नुभएको छ ।

उहाँले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोग अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गर्नुभएको हो ।

उपराष्ट्रपति पुनले कर र अन्य कट्टी भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदिप श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

उपराष्ट्रपतिले केही दिनअघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलब क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्नुहुँदै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताउनुभयो ।

सहयोग रकम लिंदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडितहरु अत्यन्त उत्साहित भएको बताउनुभयो । उहाँले क्यान्सर पीडितहरुलाई राज्यले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया