भारतीय राष्ट्रिय चलचित्र पुरस्कार : आयुष्मान खुरानाकाे 'अन्धा धुन' ले जित्याे सर्वश्रेष्ठ चलचित्रको पुरस्कार

 साउन २४, २०७६ शुक्रबार २०:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

६६ औँ भारतीय राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा भएको छ । दिल्लीको शास्त्री भवनमा आयोजित एक कार्यक्रममा राष्ट्रिय पुरस्कारको घोषणा गरिएको छ । 

सन् २०१८ को राष्ट्रिय चलचित्र पुरस्कारमा हिन्दी भाषामा सर्वश्रेष्ठ चलचित्रको पुरस्कार 'अन्धा धुन' ले पाएको छ । त्यस्तै सर्वश्रेष्ठ कथानक चलचित्रको पुरस्कार गुजराती चलचित्र 'हेल्लारो' पाएको छ । 

'अन्धाधुन' को चलचित्रको निर्देशन श्रीराम राघवनले गरेका हुन् । चलचित्रमा आयुष्मान खुराना, राधिका आप्टे र तब्बूले मुख्य भूमिका निभाएका छन् । 

त्यस्तै सर्वश्रेष्ठ अभिनेताको पुरस्कार दुई अभिनेताले बाँडेका छन् । चलचित्र 'अन्धाधुन' का लागि आयुष्मान खुराना र 'उरी : द सर्जिकल स्ट्राइक' को लागि विक्की कौशलले जितेका छन् । 

सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार तेलुगू चलचित्र 'महानटी' की अभिनेत्री कीर्ति सुरेशले जितेकी छिन् । 

त्यस्तै सहायक भूमिकाको बारेमा कुरा गर्दा यो पुरस्कार स्वानन्द किरकिरेलाई मराठी चलचित्र 'चुम्बक' बाट मिलेको छ । सहायक अभिनेत्रीको पुरस्कार सुधा सीकरीले जितिन् । उनले हिन्दी चलचित्र 'बधाई हो' बाट जितेकी छिन् । 

सर्वश्रेष्ठ संगीत निर्देशनको पुरस्कार 'पद्मावत' चलचित्रका लागि सञ्जय लीला भन्सालीले जितेका छन् । सर्वश्रेष्ठ गायकको पुरस्कार 'पद्मावत' बाटै अरिजीत सिंहले जितेका छन् । 

त्यस्तै चलचित्रको लागि सबैभन्दा अनुकुल राज्यको पुरस्कार उत्तराखण्डले जितेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया