प्रदेश ५ : पालिकाका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने

 साउन २८, २०७६ मंगलबार १७:३९:३८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – ५ नम्बर प्रदेश अन्तर्गतका पालिकाका जनप्रतिनिधिहरुले राज्य कोषबाट दोहोरो सुविधा लिन पाउने भएका छन् । 

प्रदेश सरकारले पालिकाका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन २०७५ संशोधन गर्ने विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएसँगै दोहोरो सुविधा प्राप्त सुविधा प्राप्त गर्ने बाटो खुलेको हो । कतिपय जनप्रतिनिधिहरुले पेन्सन र जनप्रतिनिधिले प्राप्त गर्ने सेवा सुविधा लिँदै आएका थिए ।

मंगलबार सरकारका प्रवक्ता बैजनाथ चौधरीले मन्त्रिपरिषद्को बैठकले जनप्रतिनिधिहरुलाई दोहोरो सुविधा लिन रोक्ने ऐनको दफा नै हटाउने र ऐन संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगको सदरमुकाम बुटवल तोकेको छ । त्यस्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको केन्द्र परिवर्तन गर्न संघीय सरकारलाई सिफारिस गर्ने र दुर्घटनाबाट मृत्यु भएका प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको परिवारलाई प्रदेश सभा सचिवालयमार्फत बीमाबापतको १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र बाँके र दाङ तथा रोजगार सूचना केन्द्र बुटवलमा कार्यरत सबै अस्थायी र करार कर्मचारीहरुलाई भदौ १ देखि लागू हुने गरी अवकाश दिने निर्णय समेत गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया